क्विन्सल्याण्डको एक क्याफेमा गायिका क्याटी पेरीले गरिन् झगडा

असार ९, मेलबर्न अष्ट्रेलिया । विश्वप्रसिद्ध गायिका क्याटी पेरीले क्याफेकी कर्मचारीसँग विवाद गरेकी छिन्। क्विन्सल्याण्डको एक क्याफेकी वेटरसँग पेरीले टेबलको विषयमा विवाद गरेकी हुन्।
तर, उनले उक्त क्याफेबाट जाने बेलामा भने ती वेटरलाई टिप्स दिएकी छिन्। क्याफेमा प्रवेश गरेकी पेरीले बस्नका लागि खाली कुर्सी नपाएको भन्दै पोर्ट डग्लसस्थित एक क्याफेमा विवाद सिर्जना गरेको सबन्धित क्याफेकी वेटर इन्डियाना पलले बताइन्।
क्याफेमा प्रवेश गर्दा ह्याट र चश्मा लगाएकी पेरीलाई त्यहाँका कर्मचारीहरूले सजिलै पहिचान गर्न सकेनन्। त्यसपछी उनीहरूले क्याफेमा कुर्सी खाली नभएको भन्दा विवादको अवस्था उत्पन्न भएको थियो।
तर, पेरीले केही समय पर्खेर कुर्सी खाली भएपछि चियाखाजा खाएर गएको क्याफेका कर्मचारीहरूले बताएका छन्। पेरीले क्याफे छोड्ने बेलामा उनको नाम सोध्दै अँगालो मारेर ठूलो टिप्स दिएको पलले टिकटकमार्फत सार्वजनिक गरेकी छिन्।