पाकिस्तानमा अष्ट्रेलियाकी एक महिलाको बञ्चरो प्रहार गरी विभत्स हत्या


असार ९, एजेन्सी । आफ्ना छोरा–छोरी लिएर अष्ट्रेलिया फर्किने विषयमा विवाद भएपछि उत्तरी पाकिस्तानमा एक अस्ट्रेलियाली महिलालाई उनका ससुराले बञ्चरोले हानेर हत्या गरेका छन्।

साजिदा तस्नीमलाई जुन ११ मा पाकिस्तानको राजधानी इस्लामावादबाट २५० किलोमिटर दक्षिणमा रहेको सरगोधा सहरमा आफ्नो ससुरासँग बसेको घरमा उनको बुबाको अगाडि हत्या गरिएको उल्लेख गरिएको छ।

तस्नीमका बुबा शेर मुहम्मद खानका अनुसार उनका ज्वाइँ अयुब अहमदले आफ्नी छोरीलाई पश्चिमी अष्ट्रेलियाको पर्थमा रहेको आफ्नो घरबाट तीन छोराछोरीसहित पाकिस्तान जान बाध्य पारेका थिए।

खानले बताए अनुसार जब उनकी छोरी पाकिस्तान पुगिन्, तब उनका ज्वाइँ पर्थ फर्किए। तस्नीमका ससुरा मुख्तार अहमदले तस्नीमको राहदानी जफत गरेर राखेका थिए।

अहमदले तस्नीमको टाउकोमा बन्चरो प्रहार गरेको आरोप छ। उनको घटनास्थलमै मृत्यु भयो। प्रहरी नायब उपरीक्षक सैयद सकलेन जाफरले मुख्तार अहमदलाई पक्राउ गरी हत्याको अभियोग लगाइएको बताए।

खानले तस्नीमका तीन सन्तान अहिले आफूसँगै रहेको र अष्ट्रेलियाली दूतावास सम्पर्कमा रहेको बताए।

अष्ट्रेलियाको विदेश मामिला र व्यापार विभागले पुष्टि गर्दै अधिकारीहरूले पाकिस्तानमा मारिएकी एक अष्ट्रेलियाली महिलाको परिवारसँग सम्पर्कमा रहेको बताउँदै शोक व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]