विवाह गरेर लुकिछिपी बसेका श्रीमान्-श्रीमती कारागार चलान


सांकेतिक तस्बिर

असार ८, सप्तरी । सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान् –श्रीमती पक्राउ गरेको छ। घरमै लुकिछिपी बसेकोअवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जु देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो।

सिराहाको वस्तिपुर–९ घर भई हाल सुरुङ्गा नगरपालिका–३ बस्ने जलेसरकी जेठी पत्नी असियादेवी यादवको जाहेरी अनुसार उनीहरूलाई अदालतले जनही १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो।

बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७३ जेठ २ गते सजाय र जरिवाना तोकेपछि दुवै जना फरार भएका थिए। उनीहरूलाई पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरी जनाएको छ।

यसैगरी प्रहरीले लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी रुपनी गाउँपालिका–२ कि असिया कुमारी रामलाई पक्राउ गरेको छ। अदालतले ६ महिना कैद ठहर गरी फरार भएकी रामलाई मंगलबार पक्राउ गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]