सुशील कोइराला सभापति बन्ने सम्भावना नरहेको महतको भनाई, काँग्रेसमा नयाँ नेतृत्व आउने


नेपालको संविधान 2072 प्रारम्भिक मस्यौदामाथि आज नेपालगन्जमा आयोजित जनताको सुझाव संकलन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइराला ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले आउँदो महाधिवेशनले काँगे्रसको मूल नेतृत्व परिवर्तन गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले पुरानै नेतृत्व दोहोरिन नसक्ने धारणा राख्नुभयो ।

सुशील कोइराला पुनः सभापति हुने सम्भावना नरहेको भन्दै उहाँले अर्को विकल्प आउनसक्ने संकेत गर्नुभयो । “अहिलेकै सभापति फेरि सभापति हुने कुरा आउँदैन” – नेता महतले भन्नुभयो । सहमति बन्ने अवस्थामा नेता शेर बहादुर देउवा र वर्तमान उपसभापति रामचन्द्र पौडेल पनि सभापति बन्ने सम्भावना जीवित रहेको नेता महतले बताउनुभयो । नेता महतले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकार हटाउने अभियानमा नलागेको प्रष्ट पार्नुभयो । ‘हामी अहिलेको सरकार हटाउने अभियानमा छैनौं, बरु सरकार आफ्नै गतिविधि र बोझले हट्ने सम्भावना म देख्छु’ नेता महतले भन्नुभयो । उहाँले मुलुकको वर्तमान सङ्कट समाधानका लागि सरकार गम्भीर नभएको आरोपसमेत लगाउनुभयो । वार्ता र सहमतिकै माध्यमबाट समस्याको हल हुनेमा जोड दिदैँ नेता महतले ‘आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा आउन आग्रह गर्नुभयो ।’ आपूर्तिमा भएको अवरोधका कारण इन्धनलगायत दैनिक उपभोग्य वस्तुमा देखिएको चरम मूल्यवृद्धि र कालोबजारी रोक्न सरकारले कडाइ गर्नुपर्ने उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]