महिला नेतृहरुले सम्झिए सहाना प्रधानलाई


सभासद् तथा पूर्वसभासद्ले महिलामैत्री लोकतान्त्रिक संविधान निर्माण गरेर महिलामुक्ति आन्दोलन सफल बनाउन सके मात्र वाम–लोकतान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको सपना पूरा हुने बताउनुभएको छ । पूर्वमहिला सभासद् तथा राष्ट्रिय महिला आयोगले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘स्व सहाना प्रधानप्रति श्रद्धाञ्जलिसभा’ मा उहाँहरूले दक्षिण एसियामै तीन पुस्ताको आन्दोलनको नेतृत्व गर्ने र महिलाको इतिहास गौरव गर्नलायक प्रधानको आन्दोलनलाई निरन्तरता दिनुपर्ने विचार राख्नुभयो । नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राणाशासनविरुद्धको आन्दोलनदेखि पञ्चायती शासन र लोकतान्त्रिक आन्दोलनसम्म उहाँको उल्लेखनीय भूमिका रहेको बताउनुभयो । प्रधानको सपना पूरा गर्न सबै दलका महिला एक ढिक्का भई महिलामैत्री संविधान बनाउन लाग्नुपर्ने बताउँदै उहाँले संविधानमै कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न सके मात्र उहाँको आन्दोलनको साकार हुने विचार राख्नुभयो । एकीकृत नेकपा(माओवादी)की नेत्री हिसिला यमीले प्रधान राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भन्ने आवाज उठाएर आन्दोनल गर्ने कुशल योद्धा भएको बताउनुभयो भने शशी श्रेष्ठले नीति बनाउने थलोमा महिला नपुगेसम्म तिनको अधिकारको संरक्षण हुन नसक्ने बताउनुभयो । नेपाल महिला सङ्घका सभापति डा डिला सङ्ग्रौलाले प्रधानले गरेको आन्दोलनलाई सार्थकता दिनका लागि महिला आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयले सम्झियो
परराष्ट्र मन्त्रालयले पूर्व परराष्ट्र मन्त्री सहाना प्रधानको स्मृतिमा शोकसभाको आयोजना गरेको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेत्री प्रधानले परराष्ट्र मन्त्रीको हैसियतमा मुलुक र जनताप्रति पु¥याउनुभएको योगदानको स्मरण गरिएको निमित्त सचिव खगनाथ अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा उहाँले पु¥याउनुभएको विशिष्ट योगदान उल्लेखनीय रहेको चर्चा गरिएको थियो । उहाँको यही सोमबार उपचारका क्रममा निधन भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]