नेपाल र भारतबीचको चिसोपन सम्वादबाट हल गर्नुपर्ने रणजीत रेको भनाई


indian ambassadorनेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको तराई क्षेत्रमा देखिएको राजनीतिक समस्या वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने बताउनुभएको छ । रायले तराईको समस्या हल गर्न नेपालका सबै राजनीतिक शक्तिले थालेको वार्ता र संवादको प्रशंसा गर्दै सबैले सहमति र लचकताका साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो । दलहरुबीच संवाद जारी रहेकाले छिट्टै केही निर्णय भएर समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उहाँँले सिमानामा देखिएको अवरोध हटाउने बारेमा सहमतिको खाका बनिसकेको बताउनुभयो । सीमामा देखिएको अवरोधका बारेमा स्पष्ट पार्दै उहाँले नेपालमा सामान्य अवस्थामा दैनिक एक हजार ६०० देखि एक हजार ७०० मालबाहक ट्रक भारतबाट प्रवेश गर्ने गरेकामा अहिले दैनिक एक हजार १०० सम्म ट्रक भित्रिरहेको जानकारी दिनुभयो । नेपाल र भारतबीचको सम्बन्ध दुवै मुलुकका सरकारबीच मात्र नभई जनस्तरमा समेत प्रगाढ रहेको बताउँदै उहाँले भन्नुभयो, “हाल दुई देशबीचमा देखिएको चिसोपनालाई संवादबाट नै हल गर्नुपर्छ ।” नेपालमा भारतको स्वार्थ भनेको राजनीतिक स्थायित्व र विकास भएको अवगत गराउँदै राजदूत रायले यस क्षेत्रमा शान्ति र स्थायित्व भएमात्र भारतले चाहेको दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न मद्दत पुग्ने बताउनुभयो । नेपालमा भारत विरोधी भावना बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यो दुवै मुलुकको हितमा नभएको बताउनुभयो । दुवै मुलुकबीचको सम्बन्ध विशिष्ट र रोटीबेटीको सम्बन्ध रहेको चर्चा गर्दै उहाँले नेपाललाई भारतले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
नेपालले इन्धनलगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले नेपाल सार्वभौम मुलुक भएकाले उसले भारत, चीन वा अरु कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा राजदूत रायले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाईसँगै भारत भ्रमणको निम्तो दिएको स्मरण गराउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]