धनराजले भत्काए पोखरामा एमालेको किल्ला, ६ हजार बढी मतान्तरले निर्वाचित


जेठ ११, पोखरा । देशकै ठूलो महानगर पोखराको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन्। एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका आचार्य निर्वाचित भएका हुन्।

आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाए।

उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गरेकी छन्। गुरुङले ६० हजार ५ सय ४६ मत पाउँदा रानाभाटले ५६ हजार ६ सय ६३ मत ल्याइन्। गुरुङ ३ हजार ८ सय ८३ मतान्तरले विजयी भएकी हुन्।

पोखरा महानगरपालिकाको निर्वाचन भएको १२औं दिन बुधबार बिहान १ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो।

आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन्। यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए। ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए। यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गुमाएको छ।

पहिला ३३ मध्ये २२ वटा वडा जितेको एमाले यसपल्ट ९ वटामा खुम्चिएको छ। कांग्रेसले पहिला ११ वटा जितेकोमा यसपल्ट २३ वटा पुर्‍याएको छ। पोखराको वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित भएका छन्। उनी कांग्रेस र माओवादी केन्द्रको समर्थनमा चुनाव लडेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]