भन्सार अघिल्तिर धर्ना बस्न खोजेपछि प्रहरसँग झडप, राजेन्द्र महतो घाइते


mahatoचार महिनादेखि काठमाडौ छोडेर मधेश आन्दोलनमा सहभागी हुँदै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरीको लाठी प्रहारबाट घाइते हुनुभएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिबार विराटनगरस्थित रानी भन्सार क्षेत्रमा धर्ना दिएर सीमामा अवरोध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा सद्भावनाका अध्यक्ष महतो घाइते हुनुभएको हो । महतोको टाउको, हात र खुट्टामा चोट लागेको छ । धर्नामा बसेका महतोलाई समाउन खोज्दा मोर्चाका कार्यकर्ताले ढुंगामुढा बर्साएपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको हो । प्रहरीको लाठी प्रहारबाट घाइते महतोलाई कार्यकर्ताले जोगबनी लगेर स्थानीय निजी क्लिनिकमा उपचार गराएका छन् । महतो भारतीय भूमि हुँदै अपरान्ह ४ बजे सीमा क्षेत्रको धर्नामा सहभागी हुनुभएको थियो । प्रहरीले महतोलाई धर्नामा नबस्न आग्रह गरेपछि मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले धर्नाकारीमाथि लाठी प्रहार गरेको हो । लाठी प्रहारबाट सद्भावनाकै केन्द्रीय सदस्य दिलिप धाडेवा सहितका एक दर्जन प्रदर्शनकारी पनि घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको थियो । मोरङका प्रहरी प्रवक्ता प्रमोदकुमार खरेलले सीमा क्षेत्रमा अवरोध नगर्न पटक पटक गरेको आग्रहलाई अस्वीकार गरी प्रदर्शनकारीले उल्टै आफूहरुमाथि ढुंगा प्रहार गरेका कारण प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र लाठी प्रहार गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]