दोलखामा चिसोबाट कठ्याङ्ग्रिएर एक साताभित्र पाँचको मृत्यु


rl/dfO{sf b’O{ gfltgL bf]nvfsf] nfb’s uflj;–^ 3/ ePsL &@ jifL{o rl/dfO{ tfdfª b’O{ gfltgLsf ;fydf . tl:a/ M uf]s0f{ e08f/L, bf]nvf, /f;;

दोलखाको लादुक गाविस–६ घर भएकी ७२ वर्षीय चरिमाई तामाङ दुई नातिनीका साथमा ।
दोलखाको लादुक गाविस–६ घर भएकी ७२ वर्षीय चरिमाई तामाङ दुई नातिनीका साथमा ।

दिन प्रतिदिन बढ्दै गएको चिसोको कारण दोलखामा एक साताभित्र पाँचजना वृद्धवृद्धाको ज्यान गएको छ । भूकम्पबाट घरविहीन भई अस्थायी रूपमा टहरामा बस्दै आएका वृद्धवृद्धा चिसोकै कारण मृत्युको मुखमा पुगिरहेका छन् । चिसोका कारण दोलखाको दक्षिणी गाविस डाँडाखर्क–८ का ९५ वर्षीय धनराज तामाङ, झुले–७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले–४ का ८३ वर्षीया जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ र जफे–१ का ७९ वर्षीया भद्रकुमारी पोखरेलको मृत्यु भएको परिवार स्रोतले जनाएको छ । भूकम्पबाट घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका वृद्धवृद्धालाई चिसोको कारण बढी मात्रामा श्वासप्रश्वासको समस्या हुने र त्यही कारणबाट मृत्यु हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय दोलखामा भने केही जानकारी नभएको प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । प्रहरीलाई खवर गर्दा मुचुल्का उठाउने, शवपरीक्षण गर्न सदरमुकाममा नै शव ल्याउनुपर्नेजस्ता कारण देखाउँदै प्रशासनलाई जानकारी नगराएको डाँडाखर्कका स्थानीयवासी राजु लामाको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधवप्रसाद लम्सालले चिसोका कारण वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना भएको बताउँदै वृद्धवृद्धाको उमेर बढेसँगै मृत्युको कारण नै चिसो हुनसक्दछ भन्नुभयो । भूकम्पपछि जिल्लामा धेरै सङ्घसंस्थाले न्यानो कपडा वितरण गरेको भनिए पनि गाउँघरमा प्रभावकारी हुन सकेको छैन । सरकारले न्यानो कपडा खरिद गर्न भन्दै १० हजार रुपैयाँ दिने भनिए पनि पूरा रकम नआउँदा सबै गाविसमा बाँड्न कठिन भएको प्रशासनले जनाएको छ । जिल्लामा ८५ हजार भूकम्पपीडित परिचयपत्र बाँडिएपछि जिल्ला विकास समिति दोलखाले गृह मन्त्रालयलाई ८५ करोड रुपैयाँ माग गरेको भए पनि हाल ५० करोड रुपैयाँ मात्र निकासा भएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]