वडा अध्यक्षका उम्मेदवार नेम्बाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलासा


वैशाख २७, पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ को वडा अध्यक्ष पदमा उम्मेदवार छन्, शेरबहादुर नेम्बाङ। नेकपा एमालेबाट दोस्रो पटक अध्यक्ष हुन उम्मेदवार बनेका नेम्बाङले एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको छ।

जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार नेम्बाङले गाउँकै खेमराज गुरुङलाई यसअघि अध्यक्ष हुँदा दोहोरो नागरिकता दिन सिफारिस गरेको खुलेको हो।

गुरुङ राहदानी बनाउन आएको र सो क्रममा उनको ‘फिङ्‍गर प्रिन्ट’ मिलेको थियो। त्यसपछि अनुसन्धानको क्रममा नागरिकताका लागि नेम्बाङले दोहोरो सिफारिस गरेको र सोही आधारमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी भएको पाइएको हो।

कार्यालयको ढड्‍डामा उल्लेख भएको विवरणअनुसार १ चैत २०७२ मा गुरुङले नागरिकता लिएको देखिन्छ। उक्त नागरिकतामा उनको जन्म मिति २०५५ माघ २० गते उल्लेख छ।

तर, फेरि नेम्बाङले नाम र जन्म मिति परिवर्तन गरेर अर्को नागरिकता दिलाउन सिफारिस गरेको पाइएको हो।

नेम्बाङले गरेको सिफारिसअनुसार गुरुङले २८ माघ २०७८ मा सुरेश गुरुङको नामबाट नागरिकता लिएको पाइएको हो।

उक्त मितिमा जारी नागरिकतामा उनको जन्म मिति ५ माघ २०५९ उल्लेख छ । दोस्रो पटक नागरिकता लिँदाको नागरिकता नम्बर २–०१–७८–०४१८७ रहेको छ। दोहोरो नागरिकता दिन सिफारिस गरेका नेम्बाङले भुलवस सिफारिस गरेको बताएका छन्।

यसअघि वडा अध्यक्ष निर्वाचित हुनु पहिले गुरुङले नागरिकता बनाइसकेको तर आफूलाई त्यसबारे थाहा नभएको पनि बताए।

उनले भनेका छन्, ‘पहिले नागरिकता लिएको मलाई थाहा थिएन। भुलवस सिफारिस गरेको रहेछु।’नागरिकतामा गुरुङको बाबुको नाम रमेश गुरुङ र आमाको नाम पदममाया गुरुङ रहेका छन्।

कुनै व्यक्तिले गलत विवरण बुझाएर नागरिकता लिन र दिन कानुनतः मिल्दैन। जुन दण्डनीय छ। तर, नेम्बाङलाई भने कानुनी दायरमा ल्याउन प्रशासन मौन छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]