अष्ट्रेलियामा विदेशी विद्यार्थीको आवेदनमा नेपालले भारत र चीनलाई उछिन्यो


वैशाख २५, काठमाडाैँ । अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूले भिसाका लागि दिने आवेदनमा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो समय नेपाली विद्यार्थीहरूले भिसाका लागि दिने आवेदनको संख्या २ ठूला छिमेकी मुलुक भारत र चीनको भन्दा पनि बढी देखिएको हो।

पछिल्लो ३० वर्षहरूमा अष्ट्रेलियामा विदेशी विद्यार्थीहरू अध्यागमनको प्रमुख स्रोत भएका छन्। कोरोना महामारीका कारणले आप्रवासीको संख्या नकारात्मक भएर सन् २०२४ सम्म प्रतिवर्ष २ लाख ३५ हजार हुने अनुमान गरिएको छ। उक्त संख्यामा सबैभन्दा धेरै विद्यार्थीहरू नै हुन्छन्।

नेट माइग्रेसनमा विद्यार्थीको योगदान विश्वव्यापी वित्तीय संकट पछि नकारात्मक क्षेत्रमा तीव्र रूपमा घट्यो। तर, २०१२-१३बाट नाइट रिभ्यु लागु भएपछि भने यो संख्या बढेको छ।

२०१४-१५ बाट विद्यार्थीहरूले ४० प्रतिशत भन्दा बढी नेट आप्रवासको प्रतिनिधित्व गरे। सन् २०१८-१९ महामारीभन्दा अघि आँकडा ४७ प्रतिशतसम्म पुगेको थियो।

सन् २०२१ को बसाइसराइको तथ्यांक अहिले उपलब्ध छैन। यद्यपी, कोरोना महामारीको प्रभावका कारण यो तथ्यांक नेगेटिभ जोनभन्दा पनि तल झरेको अनुमान गर्न सकिन्छ। सोही समयमा अष्ट्र्रेलिया आउनेभन्दा छोडेर जानेको संख्या नै धेरै थियो। जसका कारण अष्ट्रेलियामा विद्यार्थी भिसा लिएर बस्नेहरूको संख्यामा ठूलो गिरावट आएको थियो।

२०२१ को डिसेम्बरमा अष्ट्रेलियामा विद्यार्थी भिसामा बस्नेहरूको संख्या ३ लाख १५ हजार ९४९ मा खुम्चिएको थियो। जबकी यो संख्या २०१९ को सेप्टेम्बरमा ६ लाख ३३ हजार १८६ रहेको थियो। यद्यपि, त्यहाँ २०२२ को मार्चमा ब्रिजिङ भिसाका लागि पर्खिएका विद्यार्थीहरूको उल्लेखनीय संख्या रहेको छ। सो समयमा यस्ता विद्यार्थीहरूको संख्या ३ लाख ७३ हजार रहेको थियो । जुन अहिलेसम्म कै सबैभन्दा धेरै हो।

अष्ट्रेलियाको दक्ष जनशक्ति बसाइसराइमा अन्तरराष्ट्रिय विद्यार्थीहरूले सँधै ठूलो योगदान गरिरहेका छन्। त्यहाँ स्थायी बसाइसराइ गरी जानेहरूमध्ये पनि सबैभन्दा धेरै विद्यार्थी नै हुन्छन्।

२०१९ बाट दुई नयाँ क्षेत्रीय भिसाले पहिलेको दक्ष क्षेत्रीय भिसालाई प्रतिस्थापन गरेको छ। २०२०-२१ मा पार्नटर भिसा लिने विद्यार्थीहरूको संख्या बढ्नुमा साझेदार भिसा स्थानहरू धेरै वर्षसम्म प्रतिबन्धित  हुनु प्रमुख कारण थियो।

विद्यार्थीहरूका लागि स्थायी बसाइँसराइको बाटोमा कडाइ गर्नाले अस्थायी स्नातक भिसामा विद्यार्थीहरूको वृद्धि भएको छ। यी मध्ये धेरै अस्थायी स्नातक भिसा लिएकाहरू प्रभावकारी रूपमा अध्यागमन लिम्बोमा धेरै वर्षदेखि अष्ट्रेलियामा छन् तर स्थायी बसोबासको लागि बाटो सुरक्षित गर्न असमर्थ छन्।

यसको मुख्य कारणको रूपमा कमजोर सार्वजनिक नीति र अष्ट्रेलियामा लामो समयसम्म माग हुने कोर्षहरू नपढी विद्यार्थीहरूले कम गुणस्तर भएका सस्ता पाठ्यक्रम तिर लाग्नु हुनसक्छ।

अष्ट्रेलियाका अन्तरराष्ट्रिय सिमानाहरू खुलेसँगै त्यहाँ जाने विद्यार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। अन्तरराष्ट्रिय विद्यार्थीहरूको आवदेन संख्या २०२१ को अक्टोबरमा ५ हजार ३८७ बाट बढेर नोभेम्बरमा ११ हजार ४०६, डिसेम्बरमा २० हजार ५३२, जनवरीमा २५ हजार ४१७, फेब्रुअरीमा २७ हजार १८३ र मार्चमा २७ हजार १९८ पुगेको छ।

सामान्यतया अष्ट्रेलियामा अन्तरराष्ट्रिय विद्यार्थीको भिसा आवेदनको संख्या मार्च र अप्रिलमा गिरावट आउँछ भने जनवरीमा उच्चतम बिन्दुमा पुग्छ।  तर, २०२२ को मार्चको संख्या भने पछिल्ला वर्षहरूको उतारचढावभन्दा विपरीत देखिएको छ।

२०२२ को मार्च महिनामा नेपाली विद्यार्थीहरूले सबैभन्दा धेरै भिसाका लागि आवेदन दिएका छन्। मार्चमा नेपालबाट ४ हजार ७८८ जनाले भिसाका लागि आवेदन दिँदा भारत र चीनबाट कम व्यक्तिले आवेदन दिएका छन्। मार्चमा भारतबाट ३ हजार ४८३ जना र चीनबाट ३ हजार ९३० जनाले अष्ट्रेलियाको भिसाका लागि आवेदन दिएका छन्।

तर, अष्ट्रेलियामा असिमित घण्टा काम गर्न पाउने प्रलोभनमा भिसा आवदेन दिनेको संख्या बढेको भएमा यसले समस्या निम्त्याउनेछ। धेरै  काम गर्ने चक्करमा लागेर उनीहरू भविष्यमा काम पाउन मुस्किल हुने र सस्तो विषय अध्ययन गर्ने जोखिम देखिन सक्नेछ।  यसले थप नेपाली विद्यार्थीहरूलाई अध्यागमनको अड्चनमा छोड्नेछ। यस्तो अवस्थाले अष्ट्रेलियामा स्थायी बसोबास गर्न चाहनेहरूका लागि समस्या निम्त्याउने जोखिम देखिन सक्छ।

भिसा आवेदनको संख्या बढेसँगै भिसा अनुमतिको दर पनि नेपालका लागि बढेको छ। मार्चमा ९१.८ प्रतिशत नेपाली आवेदनकले भिसा प्राप्त गरेका थिए। त्यसपछि पाकिस्तानका ७३.४ प्रतिशतले भिसा पाउँदा जम्मा ६५.५ प्रतिशत भारतीय आवेदकहरूले भिसा पाउन सफल भएका थिए।

पछिल्ला पाँच महिनामा नै नेपाली विद्यार्थीहरूले भारतीय र पाकिस्तानी विद्यार्थीहरू भन्दा धेरै दरमा भिसा पाएका थिए। यो अष्ट्र्रेलियाका शिक्षा प्रदायक संस्थाहरूको भर्ना योजना (रिक्रुटमेन्ट स्ट्राटिजी)मा आएको परिवर्तनको प्रतिबिम्ब हो।

यो तथ्यहरूलाई अप्रिल र मे महिनाका तथ्यहरूले थप प्रष्ट पार्नेछन्। भिसा प्राप्तिको दर कोरोना महामारीको पूर्वअवस्थामा नै पुग्दा पनि अन्तरराष्ट्रिय विद्यार्थी अष्ट्र्रेलिया पुग्न केही ढिलो भने भएको छ।

इन्डिपेन्डेन्ट अष्ट्रेलियामा डाक्टर अबुल रिज्वीले लेखेको कोलमको अनुवादित अंश ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]