उखुबारीमा गाडिएको अवस्थामा दुई शव फेला


माघ १३, मोरङ । उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । जिल्लाको धनपालथान गाउँपालिका ७ स्थित स्थानीय बजरंगी सिंह र गंगाप्रसाद सिंहको छुट्टाछुट्टै उखुबारीमा पुरिएको अवस्थामा दुई शव फेला परेका हुन् ।

बजरंगीको उखुबारीमा ७ फिट गहिरो खाल्डो उत्खनन गरेपछि बिहीबार फेला परेको शव सुनसरीको धरान उपमहानगर ३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको जिल्ला प्रहरी मोरङले जनाएको छ । श्रेष्ठको साथमा भेटिएको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्रको माध्यमबाट पहिचान खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठको शव फेला परेको ठाउँभन्दा ३० मिटरपूर्वमा रहेको गंगाप्रसादको उखुबारीमा अर्का पहाडी मूलका ३५ वर्षीय पुरुषको शव बुधबार फेला परेको छ । उनको पहिचान खुल्न नसकेको प्रहरी जानकारी दिएको छ ।

‘दुवै जनालाई अर्कै ठाउँमा एकै साथ हत्या गरेर उखुबारीमा गाडेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुवै शवको पोस्टमार्टम रिपोर्ट आएर अनुसन्धान भएपछि मात्रै घटनाको रहस्य खुल्ने अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

उखु काट्न गएका मजदुरले उखुबारीको बीचमा खाल्डो खनेर केहि पुरिएको देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]