दक्षिण अफ्रिकामा पुष्टि हुनुभन्दा पाँच दिनअघि नै नेपाल आएका थिए ओमिक्रोन संक्रमित

काठमाडौं । अहिले संसारलाई नै त्रसित बनाइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन गत २४ नोभेम्बर अर्थात् ८ मंसिरमा पहिलोपटक दक्षिण अफ्रिकी मुलुक वत्सवानामा देखिएको थियो । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले त्यसको पुष्टि गरेको थियो । तर, त्यसको पाँच दिनअघि नै अर्थात् ३ मंसिरमै ओमिक्रोन संक्रमित नेपाल आइपुगेका थिए । स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन त्यतिखेर नेपाल आएका दुई जनामा ओमिक्रोन पुष्टि भएको जानकारी गराएको छ ।

६६ वर्षीय विदेशी नागरिक र उनीसँग नजिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति रहेको मन्त्रालयले जनाएको छ । उनीहरूको अन्य विवरण भने सार्वजनिक गरेको छैन । ७१ वर्षीय व्यक्ति नेपाली भएको अनुमान अधिकारीहरूको छ । उनीहरू नेपाल आएको सोमबार १७ दिन पुगिसकेको छ ।

नेगेटिभ रिपोर्टसहित काठमाडौं उत्रिएको चार दिनपछि ७ मंसिरमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनीहरू पिसिआर परीक्षणका लागि एक निजी प्रयोगशाला पुगेको नयाँ पत्रिकाले लेखेको छ । रिपोर्ट पजिटिभ आएको थियो । अफ्रिकाबाट आएकाले पनि शंकास्पद सूचीमा परेका उनीहरूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एस–जिन सिक्वेन्सिङ गरियो । आइतबार आएको रिपोर्टमा उनीहरूमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले बताए ।

उनीहरू नेपाल आएपछिको चार दिनसम्मको ट्राभल हिस्ट्रीबारे भने जानकारी छैन । संक्रमितको ट्राभल हिस्ट्री जानकारी नभएको मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले बताए । यो अवस्थामा उनीहरूबाट अन्य कतिमा संक्रमण फैलियो भन्ने निश्चित छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?