रुकुम पश्चिममा जन्ती बस दुर्घटनाः ४० जना घाइते, १० को अवस्था गम्भीर

काठमाडौं । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–२ रातामाटामा सोमबार बेलुका जन्ती बोकेको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिकाको घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ जन्ती बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि राति नै नेपालगञ्ज पठाइएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष वीरबल केसी, सोही वडाका सुशिल थापा, मानबहादुर ओली, सुरेन्द्र भण्डारी, नवराज खड्का, विमला खत्री र प्रेम केसी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, सोही वडाका टेकबहादुर बस्नेत, चोपबहादुर बस्नेत र बुधुराम खड्का पनि गम्भीर घाइते छन् ।

घाइतेमध्ये ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालक दोजबहादुर भण्डारी भने फरार रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट १ सय मिटर तल खसेको थियो । घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?