शाही पदवी त्याग्दै जापानी राजकुमारी माकोले गरिन् प्रेमीसँग बिहे

काठमाडौँ । जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन् । सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ ।

कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए । जापानको कानुनअनुसार जनताूसँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन ।

राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन् । अनि राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वीकार गरेकी छन् । यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुन् ।

नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ । कोमुरो अमेरिकामा वकिल छन् । माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयहरूलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ। केहीले उनीहरूलाई जापानका ह्यारी र मेगनू को सङ्ज्ञा दिएका छन् ।

उनको सम्बन्ध जापानी राजकुमारीसँग भएको घोषणा गरिएपछि कोमुरोलाई पनि मार्कलको जस्तै चियोचर्चो गरिएको थियो । जापान फर्किएको बेला उनले पालेको कपालका कारण कोमुरोको आलोचना भएको थियो । जापानी राजकुमारीसँग बिहे गर्न लागेका व्यक्तिका लागि त्यस्तो केशराशि अशोभनीय भएको केहीको भनाइ थियो ।

राजकुमारी माको मङ्गलवार बिहान टोक्योस्थित निवासस्थानबाट बाहिरिएकी हुन् । राजकुमारी माको मङ्गलवार स्थानीय समयानुसार बिहान १० बजे टोक्योस्थित आफ्नो निवासबाट विवाह दर्ता गर्न बाहिर निस्किएकी थिइन् ।

त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर अभिवादन गरेकी थिइन् । दरबारबाट बाहिर निस्किनुअघि उनले आफ्नी बहिनीलाई अँगालो हालेको क्योदोमा प्रकाशित समाचारमा उल्लिखित छ ।

माको र कोमुरोले मङ्गलवार एउटा प्रेस कन्फरेन्स गर्ने अपेक्षा गरिएको छ । त्यसमा उनीहरूले सङ्क्षिप्त रूपमा बोल्ने र छानिएका पाँचवटा प्रश्नको लिखित उत्तर दिनेछन् ।

जापानको राजपरिवारसम्बन्धी विषय हेर्ने इम्पीरीअल हाउसहोल्ड एजन्सी (आईएचए) का अनुसार मौखिक उत्तर दिँदा राजकुमारी माकोलाई अप्ठेरो लाग्ने भएकाले उनले लिखित उत्तर दिन लागेकी हुन् ।

माको र कामुरोबारे केही वर्षदेखि सञ्चारमाध्यममा धेरै विवरणहरू प्रकाशित भएका छन् । त्यसबाट उनलाई पोस्ट–ट्रोम्याटिक स्ट्रेस डिस्अर्डर भएको यसअघि आईएचएफले जनाएको थियो ।

जापानमा उनीहरूको सम्बन्ध केही विवादित बन्न पुगेको थियो । कोमुरोसँग उनको बिहेको कुरो सन् २०१७ मा छिनिएको थियो । त्यतिबेला त्यसको एक वर्षपछि बिहे गर्ने कुरो थियो ।

तर कोमुरोकी आमा एउटा आर्थिक विवादमा परेको समाचार प्रकाशित भएपछि बिहे पछि सर्‍यो । कोमुरोकी आमाले पहिला उनको आफ्नै बिहे गर्न कुरा चलेका व्यक्तिसँग ऋण लिएको तर नतिरेको समाचार त्यतिबेला आएको थियो ।

राजदरबारले उक्त विवादका कारण बिहे सरेको भन्ने दाबीको खण्डन गरेको थियो । यद्यपि युवराज फुमिहितोले आफ्नी छोरीको बिहेअगाडि नै पैसासम्बन्धी कुरो टुङ्गिनु महत्त्वपूर्ण भएको टिप्पणी गरेका थिए‍ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?