अफगानिस्तानमा पत्रकार कुट्दै तालिबान !

एजेन्सी । अफगानिस्तानमा तालिबानले पत्रकारलाई कुटेका छन् । तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको भिडियो खिचेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेको हो ।

काबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार टाकी डारयाबी र फोटो पत्रकार नेमातुल्लाह नाकबीलाई तालिबानले कुटपिट गरेको बीबीसीले जनाएको छ ।

महिलाहरुले गरेको प्रदर्शनको कभरेज गरिरहेका बेला उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर कुटिएको उनीहरुले बिबिसीलाई बताएका छन्। कुटपिट पछि बिना कुनै जानकारी उनीहरुलाई तालिबानले छोडिदिएको बताइएको छ ।

तालिबान लडाकुले महिलाको प्रदर्शनको तस्वीरलाई क्यामराबाट हटाईदिएको बताए । आफुहरुलाई किन पिटेको भनेर सोध्धा एक तालिबान लडाकुले तिमीहरु भाग्यमानी छौ की तिमीहरुको टाउको चुडाइएको छैन भन्ने जवाफ दिएको पीडित पत्रकारले बताएका छन् ।

पछिल्लो दुई दिनमा अफगानिस्तानमा १४ पत्रकारलाई हिरासतमा लिएर छोडिएको अन्तर्राष्ट्रिय गैर सरकार संस्था द कमिटी टू प्रोटेक्ट जर्नालिष्टले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?