महिलाहरुले भने : खाडी मूलुकमा शोषण हुन्छ


दलालहरूले नेपाली महिलालाई विभिन्न प्रलोभनमा पारी खाडीलगायत मुलुकमा लगी बलजफ्ती काममा लगाउने गरेको त्यहाँबाट उद्धार गरी ल्याइएका पीडितहरूले बताएका छन् ।
माइती नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मध्यपूर्वका विभिन्न मुलुकबाट उद्धार गरी ल्याइएका दश महिलाले आफूहरूलाई विभिन्न प्रलोभनमा पारी विदेशमा लगी श्रम शोषण र शारीरिक शोषण गर्ने गरेकोे बताए । कार्यक्रममा पीडितले अर्काको राहदानीमा गएको, गएलगत्तै राहदानी साहुले जफत गर्ने गरेको, उमेर नपुगेकाको पनि उमेर बढाएर राहदानी बनाएको, काम गर्दा पारिश्रमिक नपाएको, बलजफ्ती यौन शोषणलगायतको कार्य गरिएको जानकारी दिए । भारतीय मुलकी एक किशोरीलाई नेपालका दलालले नेपाली राहदानीमार्फत साउदी पु¥याएकामा उनलाई पनि माइती नेपालले उद्धार गरेको सो अवसरमा जानकारी दिइयो । पीडित भारतीय किशोरीले भनिन, “म १७ वर्षकी भएपनि २२ वर्षको उमेरको नेपाली नागरिकतामार्फत साउदी पठाइएको थियो, मालिकले दुःख दिएपछि भाग्दा त्यहाँको प्रहरीले पक्राउ गरी एक महिना जेल हाल्यो र नेपाल फर्काइदियो, यहाँ आउँदा विमानस्थलमा अध्यागमनले नक्कली राहदानी अभियोगमा पक्राउ ग¥यो, पछि माइती नेपालले धरौटी तिरेर मलाई यहाँ ल्याएर राखेको छ ।” धरानकी प्रतिभा गुरुङ सौन्दर्य (ब्युटीपार्लर) व्यवसाय गरी नेपालमै कार्यरत रहेकामा दलालले दुबईमा ब्युटीपार्लरकै काम पाइएको र महिनामा रु एक लाखभन्दा बढी कमाइन्छ भनेर लगेका थिए । तर उनलाई दुबई हुँदै द्वन्द्वग्रस्त मुलुक सिरियामा लगी २२ महिना बलजफ्ती घरेलु कामदारको रूपमा काममा लगाएकामा परराष्ट्र मन्त्रालय र माइती नेपालको पहलमा उद्धार गरिएको उनले जानकारी दिइन् । पत्रकार सम्मेलनमा नेपाली महिलालाई हाउसमेड ‘घरेलु कामदार’को रूपमा मध्यपूर्वका मुलुकमा पठाउन नहुनेमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले जोड दिनुभएको थियो । उहाँले वैदेशिक रोजगारीको क्रममा खाडीलगायत मुलुकमा गएका अधिकांश महिला पीडित हुने गरेकाले ती मुलुकमा मापदण्ड नबनाई महिला कामदार पठाउन नहुने सुझाव दिनुभयो ।
अध्यक्ष कोइरालाले भर्खरै मलेसियाली मानव संशाधन मन्त्री नेपाल आएको बखत नेपाली महिलालाई घरेलु कामदारका रूपमा पठाउने सहमति सरकारले गरेकामा आपत्ति जनाउनुभयो ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]