कार्यादेश कार्यदलमा अझै जुटेन सहमति, रविको नाममा अड्कियो हलो


जेठ १०, काठमाडौं । सहकारी ठगीसम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिको कार्यादेशमा सहमति जुटाउनेगरी बसेको बैठक निष्कर्षबिनै सकिएको छ।

बिहीबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको टीओआर (कार्यादल) कार्यदलको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान कायमै राखेका कारण सहमति जुटाउने अधिकतम प्रयास गरिएको भएपनि सहमति हुन नसकेको बताईएको छ।

सत्तापक्षले अघि सारेका मागप्रति कांग्रेस केही लचक भएपनि निष्कर्षमा पुग्न नसकिएको कार्यदलका सदस्य एवं एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

उनले भने, ‘त्यति धेरै नकारात्मक भएन, कांग्रेस अलिकति लचक भएको जस्तो देखिँदैछ । उहाँहरुले अहिलेसम्म अघि सार्दै आएको मागबाट थोरै ब्याक भएको जस्तो देखिन्छ । विषेशगरी जसरि उपप्रधानमन्त्री रवि लामिछानेमाथि नै छानबिन गर्नुपर्छ नामै किटान गरेर लाग्नुभएको थियो, आज अलि लचक भएको जस्तो लाग्यो । हामी समस्याग्रस्त सहकारीमा छानबिन गर्ने प्रस्ताव राख्दा नेतृत्वसँग कुरा गर्न समय माग्नुभएको छ।’

थप छलफलका लागि शुक्रबार बिहान साढे ८ बजे पुनः बस्नेगरी आजको बैठक सकिएको उनको भनाइ छ। कांग्रेसले सहकारीहरूको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै छानबिन समितिको माग राख्दै आएको छ।

कांग्रेसले संसद् पनि चल्न दिएको छैन। बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन लगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीको संलग्नता रहेको कांग्रेसको आरोप छ।

गृहमन्त्रीको नाम किटान गरेर समिति बनाउन सहमत देखिँदैन। यसरी सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नो अडान कायमै राख्दा संसदीय छानबिन समितिका पटक–पटक बसेका बैठक निष्कर्षविहिन हुँदै आएका छन्।

खासगरि रवि लामिछानेको नाम राख्ने र नराख्ने सत्तापक्ष–प्रतिपक्षको अडान कायमै राख्दा रविकै नाममा हलो अड्किएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?