‘पुजार सार्की’ ट्रेलर : अन्तरजातीय प्रेम र विद्रोह


वैशाख २५, काठमाडौं । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा फिल्मका नायक आर्यन सिग्देलको नायिका अञ्जना बराइलीसँग र प्रदीप खड्काको नायिका परीक्षा लिम्बुसँगको अन्तरजातीय प्रेमलाई स्थान दिइएको छ। उनीहरुको प्रेममा आइपर्ने सामाजिक अवरोधदेखि जातीय विभेदको विषयलाई ट्रेलरमा उठान गरिएको छ।

फिल्मका अर्का नायक पल शाहलाई भने जातीय विभेदविरुद्ध अग्रसर युवाको भूमिकामा देखाइएको छ। ट्रेलरमा पललाई आर्यन र अञ्जना तथा प्रदीप र परीक्षाको प्रेमका समर्थकका रुपमा देखाइए पनि विभेदविरुद्ध एकजुट हुनुपर्ने सन्देश दिएका छन्।

कार्यक्रममा फिल्मका लेखक विकास सुवेदीले ‘पुजार सार्की’ मौलिक कथावस्तु भएकाले यसमा अन्य घटना नजोडिएको दाबी गरे। ‘धेरैले हामीलाई सुदुरपश्चिमका युवा नवराज विकको घटनाबाट प्रभावित भएर फिल्म बनाएको हो कि भन्ने प्रश्न गर्नुभयो। वास्तविकता त्यस्तो होइन। जातीयताका आधारमा नेपालमा भइरहेका घटनासँग फिल्मको कथा सम्बन्धित छैन। यो कथामा आफ्नो मौलिकता छ’, उनले भने।

निर्देशक दिनेश राउतले फिल्मले फरक कथावस्तु उठान गरेकाले दर्शकका लागि नयाँ स्वाद हुने दाबी गरे। ‘जातीय विभेदका विषयमा हामीले फरक कथा फिल्ममा उठाएका छौं’, उनले भने। नायक प्रदीप खड्काले फरक चरित्रमा आफूलाई देखाउन पाउँदा मन खुशी भएको प्रतिक्रिया दिए।

फिल्ममा प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुरालको अभिनय छ।

किङ्गडम नेटवर्कको व्यानरमा सुवास भुसालले निर्माण गरेको फिल्ममा भुसालकै संगीत, राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन र हिमाल केसीको द्वन्द्व छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?