सभामुख भन्छन् : ‘अधिवेशन बेरोकटोक चलाउने बाटो खुल्यो’


वैशाख २५, काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका सभामुख देवराज घिमिरेले अबको अधिवेशन रोकटोकबिना अगाडि बढाउन बैठकले महत्वपूर्ण आधार प्रदान गरेको बताएका छन्।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार भएको छलफलमा उनले समस्याहरुको समाधान दलबाट निकाल्ने र संसदलाई अगाडि बढाउन सबैको प्रभावकारी भूमिका रहने भन्दै त्यो बाटो खुलेको बताए।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रावि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएकाले छानबिन गर्न संसदीय समिति गठनको माग प्रमुख प्रतिपक्षी दल कांग्रेसले गर्दै आएको छ। यसअघि प्रतिपक्षको माग छल्न सरकारले हतार हतार संसद् अधिवेशन अन्त्य गरेको थियो। आगामी शुक्रबारदेखि सुरु हुनेगरि आह्वान भएको संसदको बजेट अधिवेशनमा अवरोध हुन नदिन सभामुख घिमिरेले बैठक बोलाएका हुन्।

बैठकमा प्रतिपक्षले आफ्नो माग छाडेन, सत्ता गठबन्धन छानबिन समिति बनाउन लचिलो भएन। बैठक उक्त विषयमा निष्कर्षविहीन भए पनि अधिवेशन सञ्चालनमा लागि दलहरु सकारात्मक रहेको भनाइ सभामुख घिमिरेको छ।

उनले भने, ‘आजको छलफलले २८ गतेबाट सुरु हुने अबको अधिवेशन रोकटोकबिना अगाडि लानको लागि महत्वपूर्ण आधार प्रदान गरेको छ। शंका गर्नुपर्ने जस्तो आधार मैले देखेको छैन। आउने दिनहरुमा दलहरु गम्भीर हुनेछन् र उनीहरुले समस्याहरुको समाधान दलबाट निकाल्ने र संसदलाई अगाडि बढाउने कुरामा प्रभावकारी भूमिका खेल्नु हुन्छ। आजबाट त्यो दिशा खुलेको छ, अब त्यसमा आगडि बढ्छ।’

यस्तै, संसदीय प्रणालीका लागि लडेर देशका ठूला राजनीतिक दलहरुले यो व्यवस्था ल्याएको हुनाले अब समस्या समाधान गर्ने तरिकाबाट विकास गर्ने कुरामा लाग्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

उनले भने, ‘दायित्वको कुराहरु हो, जो देशका ठूला राजनीतिक दलहरु संसदीय प्रणालीको लागि लडेर यो व्यवस्था ल्याउनु भएको छ। संसदलाई समस्या समाधानको थलो बनाउने कि अवरोधको गतिविधिको थलो बनाउने यसमा समस्या समाधान गर्ने तरिकाबाट विकास गर्ने कुरामा लाग्नु हुन्छ। आउने अधिवेशन चल्छ भन्ने लाग्छ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?