प्रतिनिधि सभामा खुम्चिए उपेन्द्र यादव


वैशाख २५, काठमाडौं । सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विदेश उड्नुअघिसम्म उनको पार्टीमा कुनै खटपट देखापरेको थिएन। तर राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिन अमेरिका पुगेका यादव स्वदेश फर्किँदा उनी फुटेको पार्टीको अध्यक्षमा खुम्चिएका थिए ।

आफू प्रवासमा रहेका बेला पार्टी फुटाएर अलग्गिएका साथीहरुले नयाँ पार्टी दर्ता गर्ने प्रक्रिया थालिसक्दा अध्यक्ष यादव काठमाडौं उत्रिएका थिए।

जसपाकै नेता अशोक राईले प्रतिनिधि सभाका सात सदस्यसहित बहुसंख्यक नेता लिएर नयाँ पार्टी जनता समाजवादी गठन गरिसकेका छन्। यो पार्टीले निर्वाचन आयोगबाट वैधानिक हैसियत लिने प्रक्रियामा छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीको हैसियतमा राष्ट्र संघ पुगेका उपप्रधानमन्त्री यादवको रामशाहपथस्थित कार्यकक्ष मर्मतसम्भार गरेर सोमबार नै तयार गरिएको थियो।

धेरैवटा ढोका र झ्याल भएको स्वास्थ्य मन्त्रालयको भवनमा मन्त्रीको कार्यकक्षका अनावश्यक ढोकाहरु टालेर नयाँपन दिईएको हो। मन्त्री कार्यालय फर्किनुअघि नै कार्यकक्षमा नयाँपन सिर्जना गरेर उनलाई प्रशन्न तुल्याउन मन्त्रालय प्रशासन क्रियाशील थियो। तर पार्टी फुटेको पीडा र रोश बोकेर फर्किएका यादवलाई उनको सचिवालयले प्रशन्न देख्न पाएन।

प्रतिनिधि सभामा हिजोभन्दा कमजोर भएका यादव सत्ता गठबन्धनमा रहीरहने कि विकल्प सोच्ने भन्ने मनस्थितिमा सहकर्मीहरुसँग परामर्श गर्ने तयारीमा रहेको उनीसँग सम्बध्द सूत्रले बताएको छ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्किइसकेका छन्। यता, गठबन्धनका परिकल्पनाकार मानिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो दलललाई सबैभन्दा ठूलो दल बनाउने रणनीतिमा राजनीतिक सक्रियता बढाईरहेको बुझिएको छ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला दुइ पार्टी मिलेर मात्र देशका कतिपय बिषयको समाधान गर्न सम्भव भएको भनेर एमाले र कांग्रेसको सत्ता गठबन्धनको पैरवी गरिरहेका छन्। यही अभियानमा जसपा विभाजनलाई पनि जोडेर हेरिएको पाईन्छ।

राष्ट्रसंघको प्रधानकार्यालयमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएको खबर सार्वजनिक हुने क्रममै उनको पार्टी फुटिसकेको थियो। यो फुटलाई सम्भावित एमाले र कांग्रेस सहकार्यको अंश त होइन भनेर राजनीतिक क्षेत्रमा टिकाटिप्पणी भैरहेको पाईन्छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?