निर्देशक नवीन भन्छन् : ‘गाउँ आएको बाटो बुबाप्रति समर्पित छ’


वैशाख २४, काठमाडौं । फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ। आगामी जेठ २५ गतेबाट नेपालमा रिलिज हुने फिल्मको टिजरमा प्रमुख कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई फिचर्ड छन्।

टिजरमा बाबुको भूमिकामा देखिएका दयाहाङले छोरा प्रसनलाई नुन लिन धरान जाने बाटो देखाएका छन्। दयाहाङले छोरा प्रसनलाई सुन्तलाको ढाकर बोकेर बयखु खोला हुँदै नौ डाँडा काटी दुई दिनमा धरान पुग्ने गरेको बताएको देखाइएको छ।

टिजरमा गाउँमा बस आउँदा गाउँले स्वागत गर्न बसेको र केटाकेटीहरु खुशीले बसतिर दौडिएको देखाइएको छ। गाउँमा बाटो र बस पुग्दाको खुशीलाई टिजरमा देखाइएको छ।

फिल्मका निर्देशक नवीन सुब्बाले फिल्म सरल शैलीमा बनाएको बताए। उनका अनुसार किराँत राई समुदायको पृष्ठभूमिमा बनेको फिल्मले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई मिहिन ढंगले हेर्ने कोसिस गरिएको छ।

‘गाउँ आएको बाटो बुबाप्रति समर्पित छ। बुवासँग म लामो समय बस्न पाइनँ। बुबा नहुनु भएपछि मात्रै हामीलाई हुर्काउन, बढाउन, पढाउन उहाँले कति संघर्ष गर्नुभयो होला भन्ने मनन भयो । त्यही पृष्ठभूमिलाई गाउँ आएको बाटोमा देखाएको छु,’उनले भने।

फिल्मका नायक दयाहाङ राईले गाउँमा बाटो आएपछि त्यसले के ल्यायो र के लिएर गयो भन्ने कथा फिल्ममा रहेको खुलाए । ‘ग्रामीण परिवेशमा बस्ने आम मानिसको भोगाइ फिल्ममा छ,’उनले भने।

निर्माता अमोद राईले फिल्मले राई समुदायको कथा बोल्ने बताए। ‘यसमा सामुदायिक लगानी छ। जुन समुदायमा रहेर हामीले फिल्म बनायौं, त्यही समुदायका मानिसलाई फिल्ममा शेयर होल्डरका रुपमा लगानीकर्ता बनाएका छौं,’अमोदले खुलाए।

फिल्मका लेखक महेश राईले गाउँमा बाटो आएपछि मान्छेको चाहनामा भएको बढोत्तरी र त्यसको पूर्ति गर्न उसले गर्ने संघर्ष फिल्ममा देखाइने बताए।

महेश र नवीनको संयुक्त लेखन रहेको फिल्ममा केशव राई, प्रेम सुब्बा र राज थापाको पनि अभिनय छ। मञ्जु राई, नरहाङ राई, भीम राई र देवराज राई कार्यकारी निर्माता रहेको फिल्ममा जोस हेरमको छायाँंकन, क्वान पुन लुङको सम्पादन, हाइडी लीको संगीत छ।

यो फिल्म ‘टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल’, ‘बुसान इन्टरनेसनल फिल्म फेस्टिभल’, ‘गोटेबोर्ग फिल्म फेस्टिभल’, ‘मोस्ट्रा इन्टरनेसनल दी सिनेमा साउलो पाउलो इन्टरनेसनल फिल्म फेस्टिभल’, ‘जियो मिआमी मुम्बई इन्टरनेसनल फिल्म फेस्टिभल’ र ‘बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिभल’मा प्रिमियर भइसकेको छ।

निर्देशक सुब्बाले यसअघि ‘खाङरी’, ‘नुमाफुङ’, ‘दलान’, ‘गुडबाई काठमाडौं’ र ‘सिंहदरबार’ निर्देशन गरिसकेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?