नीरज, रमेश र रिजनको वर्ष उत्कृष्ट प्रशिक्षक बन्न प्रतिष्पर्धा


वैशाख २४, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति नजिकिदै छ । चार बिधाको मनोनयन सार्वजनिक भइसकेकाले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञासा बढ्न थालेको छ ।

अवार्ड अन्तर्गतको वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न सफल सबै जना आफ्नो क्षेत्रमा अब्बल भएकाले प्रतिष्पर्धा पेचिलो बनेको छ । यो विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका छन् । अवार्ड कार्यक्रम यहीं वैशाख २८ गते शुक्रबार पोखरा सभागृहमा हुँदैछ।

नीरज थापा (टेनिस)
काठमाडौं रंगशालामा रहेको टेनिस कोर्टमा विसं २०४९ सालमा बल टिप्न र कोर्ट मर्मत गर्न पुगेका थिए नीरज थापा । लगातार बल टिप्ने र कोर्ट मर्मत गर्न जाने नीरजलाई अरूले हेरेको खेल्न थाले । उनी २०५४ सालमा बल टिप्न र कोर्ट बनाउन पोखरा आए । त्यसपछि उनी बल टिप्दै गर्दा ¥याकेट चलाउन सक्न थाले । एक दशकअघि नेपालको शीर्ष वरीयतामा रहेका कुमार अधिकारीले नीरजसँगबाट टेनिस ¥याकेट समात्न सिकेका हुन् । अनि विस्तारै बल टिप्नबाट खेलाडी बन्न पुगे ।

उनले २०५८ सालमा काठमाडौं एक वर्षे कोच तालिम लिए । त्यसपछि भने उनी निरन्तर कोचिङ क्षेत्रमा क्रियाशील भए । उनले २०५९ मा रत्न श्री जिम हलमा उनले टेनिस सिकाउँदा पोखरामा मात्र १० जनाले टेनिस खेल्थे । अहिले भने १०० भन्दा बढी टेनिस खेल्ने उनी बताउँछन् ।

उनी बिहान साँझ टेनिस कोर्टमै हुन्छन् । उनले बालकदेखि वृद्धसम्मलाई टेनिस सिकाउने गर्छन् । थापाले अहिलेसम्म धेरैलाई सिकाएका छन् । ती मध्ये अहिले नेपालका शीर्ष वरीयता खेलाडी प्रदीप खड्का उनकै चेला हुन् । पोखरालाई टेनिस सरहका रूपमा चिनाउन नीरजको ठूलो योगदान छ । उनी ‘सबैका गुरु नीरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाई नै व्यवसाय बनाएका नीरजले फिस्टेल एकेडेमीमा लङ टेनिस सिकाउने गर्छन् ।

रमेश केसी (भलिबल)
चैतमा चितवनमा भएको अन्तर प्रदेश भलिबलमा सबै प्रदेशलाई पाखा लगाउँदै गण्डकी च्याम्पियन बन्यो । गण्डकीले प्रदेशलाई मात्र होइन विभागीयलाई समेट पछारेर उपाधि जितेको धेरै उदाहरण छन् । गण्डकीलाई भलिबलमा उत्कृष्ट बनाउन भूमिका खेलिरहेका छन्, प्रशिक्षक रमेश केसी ।

एक दशकभन्दा बढी पश्चिमाञ्चलबाट योगदान दिएका केसी अहिले गण्डकीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । प्रदेशले साथ नदिएको बेला होस् या भलिबल संघको सहयोग नगरेको बेला । जुनसुकै बेला पनि उनले व्यक्तिगत खर्च गरेर उनले टिमलाई खेल्न लगेका हुन्छन् ।

गण्डकीले २०८० मा १९ वटा प्रतियोगिता खेल्यो । त्यसमा ३ वटामा चौथो र २ वटामा तेस्रो रह्यो । अन्य प्रतियोगितामा गण्डकी विजेता र उपविजेता बन्न सफल भयो ।
केही वर्षदेखि केसीले पश्चिमाञ्चल भलिबल टेनिङ सेन्टर समेत चलाएका छन् । उनले प्रदेशका खेलाडीहरूलाई समेत उक्त सेन्टरमा नै प्रशिक्षण गराउँदै आएका छन् । प्रतियोगिता बाहेकको समय अरू नयाँ खेलाडीहरूसमेत प्रशिक्षण गर्ने गरेको उनको भनाइ छ ।

सानैदेखि भलिबल खेल्न सुरु गरेका रमेशले ९ वर्ष तत्कालीन पश्चिमाञ्चलको कप्तानी गरेका थिए । उनले अहिले पनि भलिबलमा उत्तिकै योगदान दिइरहेका छन् । विजय थापा, रवि केसी, रुपेन्द्र गैरे, सफल विक, हिमाल सुनारी, सरोज बर्देवा, सन्जुविक्रम शाह जस्ता प्रतिभावान खेलाडी उनकै प्रशिक्षणबाट उत्पादन भएका हुन् ।

रिजन प्रजु (क्रिकेट)
खेलाडीको भूमिकामा रहँदै प्रशिक्षक बनेको रिजन प्रजु गण्डकी प्रदेशका मुख्य प्रशिक्षक हुन् । उनले विगत केही समयदेखि गण्डकीको क्रिकेटलाई सम्हाल्दै आएका छन् । उनले कोचिङ गरेर सहभागिता भएको पहिलो प्रतियोगिताको उपाधि जिताएका थिए ।

सुदूरपश्चिममा भएको यु–१९ महिला प्रतियोगिताको उपाधि जितेको हो । उपाधि जितेपछि गण्डकीका ५ खेलाडी राष्ट्रिय टोलीको क्लोज क्याम्पमा र ३ जना टोलीमै परेका थिए । २०७८ मा मलेसियामा यु–१७ विश्वकप छनोटमा प्रशिक्षक प्रजुले सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

सन् २००७ मा खेलेका उनी यु–१७ राष्ट्रिय टोलीको क्लोज क्याम्पमा परेका थिए । २०१३ बाट भने उनी कोचिङतिर लागेका थिए । लेभल १ को कोचिङ ट्रेनिङ लिएका उनले सन् २०१६ पछि भने जागिर छाडेर पुरा समय क्रिकेटलाई दिन थालेका हुन् ।

उनले अहिले आइसीसीबाट लेभल २ को कोचिङ ट्रेनिङ लिएका छन् । उनीसहित नेपालमा लेभल २ को तालिम लिएका ८ जना छन् । उनकै प्रशिक्षणमा पहिलोपटक गण्डकीले राष्ट्रियस्तरमा उपाधि जितेको छ । गत चैतमा भएको अन्तर प्रदेश क्रिकेटको उपाधि गण्डकी प्रदेशले जितेको हो ।

हाल यु–१९ टोलीमा गण्डकी प्रदेशबाट ३ खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी दृष्टीविहिन महिला क्रिकेट टिमको पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको विश्वकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्यूजिल्याण्डलाई तथा पाकिस्तानमा अष्टे«लियालाई पराजित गरेको थियो ।

आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट प्रशिक्षकसँगै लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार दिने तयारी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?