प्रधानमन्त्री दाहालसँग जापानी विदेशमन्त्री योकोको शिष्टाचार भेट


वैशाख २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेकी छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार अपरान्ह भएको भेटमा उनीहरुबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पु¥याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण सहयोग गरेको बताए।

उनले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गरेका थिए। नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध अझ सबल हुनेछ। आगामी दिनमा नेपाल र जापान दुवैतर्फबाट उच्चस्तरीय भ्रमण हुने मैले विश्वास लिएको छु।’, प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै सापकोटाले भने।

भेटका क्रममा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको उल्लेख गर्दै दुई देशबीच रहिआएको समस्यारहित मित्रवत सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिइन्।

उनले आर्थिक विकासमा नेपालले राखेका लक्ष्य पूरा गर्नका लागि जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?