बहिस्कृत नातिनी राष्ट्रिय सभा उपाध्यक्ष चुनिएपछि..!


वैशाख २२, काठमाडौँ । मधेशको कपिलवस्तु वाणगंगा निवासीबिमला घिमिरेको जन्मथलो भनेपहाडको अर्घाखाँची हो ।मध्यमवर्गीय परिवारमा २०२९ साउन १२ गते जन्मिएकी घिमिरेको परिवारलाईराजनीतिले छोएको थिएन । तर, उनलाई भने स्कूले जीवनमै राजनीतिले समायो । तीनदशक अघि २०४७ सालतिर महिलालाई राजनीतिमा आउन त्यति सहज थिएन ।त्यसमाथिराजनीतिको चस्का नपसेको परिवारका सदस्यलाई त झनै अप्ठेरो थियो यतातिर उठबस गर्न ।

बिमलाका पितादिन प्रसाद घिमिरे तत्कालिन समयमा रोजगारीको सिलसिलामा भारत पसेका थिए ।आमा रुपकला र हजुरआमाको रेखदेखमा हुर्किएकी थिईन् बिमला । विद्यार्थी छँदै उनलाईकम्युनिष्ट शब्द सुनेर निकै कौतुहल जागेको थियो । कम्युनिष्ट शब्दर आन्दोलनले उनलाई यसरी आकर्षित गर्दैलग्यो कि बिमलाले त्यसबारेमा अरु कुरा बुझ्ने प्रयत्न गरिन् ।यस्तै जिज्ञासाको तृष्णा पूरा गर्दै जाँदा आफू थाहै नपाई राजनीतिको तलाउमा पौडिन थालेको उनको अनुभव छ ।

लाग्न त लागिन् राजनीतिमा तर बिमलाका ती दिन त्यति सजिला भने थिएनन् । उनले निकै कष्ट झेल्दै अघि बढ्नुपर्यो । परिवारका सदस्यहरु राजनीतिप्रति चासो नराख्ने भएपनि उनको छरछिमेक र अलि परका आफन्त समेत सबै गैरवामपन्थी राजनीतिसँग नजिक थिए । यस्तो परिवेशमाकम्युनिष्ट पार्टीसँग नजिक हुनु त परको कुराशब्द मात्रै उच्चारण गरेपनि जिब्रो नै थुतिने हो कि भन्ने भय रहन्थ्यो भन्छिन् बिमला ।तैपनि साहसी बिमलाको कम्युनिष्ट प्रतिको उत्सुकता त्यतिमै खुम्चिएन । अनि त उनी १५ वर्षकै उमेरमा भूमिगत रुपमाकम्युनिष्ट पार्टीमा संलग्न भईन्, उनीे विरुध्द गठबन्धन गरेको परिवारले सुँइको पनि पाएन ।

यी उनै बिमला हुन् जो हालै संघीय संसद राष्ट्रिय सभाको उपाध्यक्ष चुनिएकी छन् । बिमलाको करिब तीन दशकको राजनीतिक जीवनको सक्रिय यात्रा २०४७ सालमा अखिल नेपाल महिला संघबाटसुरु हुन्छ । त्यसपछि लगातार सक्रिय रहेकी उनी ०४९ सालमा पार्टी संस्कृतिको अनुशरण गर्दै दुर्गाप्रसाद आचार्यसँग प्रगतिशिल विवाह गर्छिन् । अनि पार्टीका विभिन्न तहमा काम गर्दै उनी२०७१ मा आइपुग्दा एमालेको केन्द्रिय कमिटिको स्कुल विभागमा सदस्य बन्छिन् । अनि २०७८मा एमालेको केन्द्रीय कमिटिमा निर्वाचित सदस्य भएपछि उनी पोलिटब्युरो सदस्यमा मनोनित हुन्छिन् । उनको यो अविश्रान्त यात्रा २०७६ सालमा आएरसंघीय संसदको राष्ट्रियसभा सदस्यमा आरोहण गर्न सफल हुन्छ । उनी लुम्बिनी प्रदेशबाट सदस्यमा विजयी भएकी थिइन् ।राष्ट्रिय सभामा दिगो विकास तथा सु–शासन समितिमा सदस्य रहेकी घिमिरे २०८० चैत्र २८ गते राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित भएकी हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कपिलवस्तुकोवाणगंगा नगरपालिका प्रमुखमा पराजय व्यहोरेको बाहेक उनले पराजयको अनुहार देख्नुपरेकोछैन ।

‘२०४७ सालदेखि २०८० चैत्र २८ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुनुपूर्व चैत २७ गतेसम्म मैले पार्टीभित्रमा कमिटी विहीन भएर बसेको एक दिन,एक क्षण पनि छैन । कुनै न कुनै कमिटीमा कुनै न कुनै भूमिकामा म सधैं नै आबद्ध रहे राजनीतिमा निरन्तरता सधैं रह्यो’ घिमिरेले सुनाईन् ।

पतिको हात परिवारको साथ
एक सफल पुरुषको पछाडि नारीको साथ र हात हुन्छ भनेझैं आफ्नो राजनीतिक जीवनको सफलताका पछाडि श्रीमानको साथ रहेको सुनाउँछिन् घिमिरे । सासु ससुरादेखिश्रीमानसम्मले घरपरिवार सम्हालेर आफूलाई पार्टीभित्र १५ वर्ष पूर्णकालीन समय काम गर्न दिइएकोअवसरले नै राजनीतिमा अगाडि बढ्न सम्भव भएकोउपाध्यक्ष घिमिरेको भनाई छ ।

उनले भनिन्, ‘श्रीमान टिचिङबाट रिटायर्ड हुने तयारीमा हुनुहुन्छ । श्रीमान र सासु ससुराले घर परिवार र दुई बच्चालाई हेर्ने काम गर्नुभयो । यो बीचमा पूर्णकालीन रुपमा शुद्ध पार्टीको काममा मैले करिब १५ वर्ष दिए, अरु बेलामा पार्टीको काम र घरलाई सँगै हेरे । उहाँहरुको साथ सहयोग नभएको भए यहाँसम्म आइपुग्न गाह्रो हुने थियो ।’ उनले थपिन, ‘ दुई वर्षको अन्तरालमा दुई बच्चा भए । ति साना छँदा केही कम जिम्मेवारी लिए, दुई छोरा हुर्किएपछि २०५४ सालपछि जिल्ला स्तरको जिम्मेवारी लिएर काम गरेँ । पार्टीमा दिएको समय हिसाब गर्ने हो भने कपिलवस्तु जिल्लामा म दोस्रो नम्बरमा पर्छु भन्ने दाबी छ ।त्यसका लागि परिवार,स्थानीय कमिटी र केन्द्रीय नेतृत्व सबैले मलाई विस्वास र माया गरेर अवसर प्रदान गर्नुभयो । मैले आफूले पाएको अवसरलाई कहिल्यै पार्टीभन्दा बाहिर व्यक्तिगत कामका लागि समेत दुरुपयोग गरेको इतिहास छैन । अबको बाँकी दुई वर्षे कार्यकाल पनि म त्यसैगरी विताउन चाहन्छु ।’

बहिस्कृत नातिनी
देशमा बहुदल आयो र त्यो बहुदल गाउँमा पनिपस्यो । बहुदल गाउँमा पसेपछिनेपाली कांग्रेसको फुर्तिफार्तीयस्तो थियो कि सिङ्गो गाउँमा कोही पनि कम्युनिष्ट थिएनन् । त्यतिबेला कांग्रेस र कम्युनिष्ट भनेपछि चर्काचर्की परिहाल्ने अवस्था थियो । कम्युनिष्टलाई जातपात नमान्ने, ६० वर्ष पुगेका बूढाबूढीलाई गोली ठोक्ने पार्टी भनेर गाउँलेलाई तर्साउने गरिन्थ्यो।

गाउँ घरमा विमलाले कम्युनिष्ट पार्टीमा लागि भन्ने खबर फैलिएपछि गाउँले र पारिवारमापानी बाराबारको अवस्था आयो । एकातिर आउँलेले हेप्थे भने अर्कातिर नजिकका आफन्तले नै पानी बारेको स्मरण सुनाउँछिन् उनी ।घरमुली बुवा रोजगारीको लागि भारतमा थिए, फुपु, हजुरआमा र आमा सँगै विमलाको भाइबहिनीबस्थे । उतिबेला बुवाको मामाले परिवारलाई अभिभावकत्वप्रदान गरेका थिए । कट्टर कांग्रेस थिए मावलका हजुरवुबा । उनलेआफ्नै बहिनीसँगसम्बन्ध नै तोडे । यतिसम्मकी दुई दिदी भाईलेकैयौं वर्ष तिहारको सप्तरङ्गी टिकासमेत लगाएनन् । यो थियो राजनीतिक अनुभवहिनताको परिणाम ।

‘मैले पार्टीमा लाग्दा यति धेरै विरोध भयो कि मेरो हजुरबुवाहामी एउटै गाउँमा बस्थ्यौं । बुवा भारतमा भएको हुँनाले मामाघर नजिकै थियो,उहाँहरुनै हाम्रो अभिभावक हुनुहुन्थ्यो । अहिले हजुरबुवा स्वर्गीय हुनुभयो तर उतिबेला उहाँहरु हाम्रो घरमै आउन छोड्नुभयो । मावली हजुरबुवा एउटा दिदी एउटा भाई मात्रै हुनुहुन्थ्यो । हामी कम्युनिष्ट भएपछि उहाँले तीजमा पनि एक्लो दिदीलाई बोलाउनु भएन,तिहारमा पनि टिका लगाउनुभएन, आउजाउ नै बन्द भयो ।’

रोकिएन यात्रा
एकातिर तत्कालिन परिवेश,अर्कातिर गाउँले छरछिमेकी देखि बुवाको मावलीसम्म सबै कांग्रेस !यो बीचमा १५ वर्षकी एक्ली बालिका कम्युनिष्ट भनेर आफूलाई चिनाउँदा उनका परिवारले पनि शुरुमा साथ दिने कुरै थिएन । आमा देखि हजुरआमा सम्मले सम्झाए विमलालाई,मावली हजुरबुवा र थप गाउँले त छँदै थिए । तर, जति गरे पनि विमलाको कम्युनिष्ट प्रतिको चासो घटेन । एक दिन त्यस्तो आयो घरकाले एक सातासम्म घरबाहिर निस्कनै दिएनन् । जसोतसो संगठनमा पुगेर समस्या सुनाएपछि विमलाको परिवारलाई सम्झाउन कम्युनिष्टहरु उनको घरै पुगे । त्यसपछि भने उनले परिवारको साथ पाउन थालिन् अनि निरन्तर अघि बढिन् ।

मकै छर्न समेत दिएनन्
‘हाम्रो घरको छेउमा एउटा बोरिङ छ, त्यो अझै छ । त्यही बोरिङको पानीबाट खेतमा मकै छर्ने गथ्र्याैं । त्यो बोरिङको पानी समेत यो कम्युनिष्टको घर हो यिनिहरुलाई पानी पनि दिनुहुँदैन भनेर त्यतिबेला जसले बोरिङ चलाउनुहुन्थ्यो, उहाँले हामीलाई पानी पनि चलाइदिनुभएन । हामीले मकै छर्न पाएनौं ।’ गाउँलेले पानी समेत नदिएर खेती गर्नवाधा पुर्याएको कुरा ओल्लो पल्को गाउँमा फिँजिएको र त्यहाँका कम्युनिष्टले आफूहरुलाई माया गरेर मकै ल्याएर दिएको स्मरण सुनाउँछिन बिमला ।

‘गाउँमा पानी नदिएर हामीले मकै छर्नबाट बञ्चित हुनुपरेको कुरा सबै गाउँतिर थाहा भयो । त्यसपछि जुन गाउँमा अलि बढी कम्युनिष्टहरु बस्नुहुन्थ्यो उहाँहरुले तिमिहरुले खाने जति मकै लिएर जाउ भनेर सबैले मकै हाम्रो घरमै ल्याइदिए। छरेर फलेको भन्दा धेरै मकै हाम्रो घरमा भयो ।’

‘अहिले हजुरबुवा त हुनुहुन्न तर, त्यतिबेला त्यो हदसम्म पुगेर असहयोग गर्ने गाउँलेहरुपनि अहिले मलाई यतिधेरै माया गर्नुहुन्छ नि म राष्ट्रिय सभामा निर्वाचित हुँदा सबैभन्दा पहिला उहाँहरुले नै बधाई दिनुभयो । गाउँमा आउनुपर्छ भन्नुहुन्छ ।’ उनले थपिन्, ‘हुन त त्यतिबेलाको माहोल नै त्यस्तै थियो, उहाँहरुको व्यवहारबाट आजित भएर म निष्क्रिय भएको भए आज मैले उहाँहरुलाई दोष दिएर गाली गर्ने थिएँ होला तर, उहाँहरुकै व्यवहारले उर्जा थपेर म अगाडि बढें, उहाँहरुलाई अझै धन्यवाद दिइरहन्छु।’

अवसरले पछ्याउँछ
महिलालाई राजनीतिमा आउनै अत्यन्तै कठिन भएको समयमा उनले आफ्नो राजनीतिक यात्रा शुरु गरिन । खुलेर राजनीतिमा लागिसकेपछि उनलाई कठिनाईको सामना गर्नै परेन भन्ने चाँही होइन । पार्टीले सजिलै उनलाई मात्रै अवसर दियो भन्ने हिसाबले बुझ्न नहुने धारणा राखिन । उनले थुप्रै सामाजिक चुनौतीको सामना गर्नुपरेको सुनाउँदै महिलाले चुनौतिको सामना गरी राजनीतिलाई निरन्तरता दिए सफल हुने धारणा राखिन ।

‘महिलाहरुले थुप्रै चुनौतीको सामना गर्नुपर्छ । तैपनिमहिलाले पार्टीको काममा निरन्तरता दिने हो भने अवसरहरुले आफैं पछ्याउँदै आउँछन् । हुनत पार्टीको कुनै काम नै नगरेका, अनुभव नै नभएकाले पनि अवसर त पाएका छन् । तर, त्यस्तो अवसर पाउने थोरै हुन्छन भने जिम्मेवारी बहन गरेको र काम गरेको अनुभवको हिसावलेअवसर पाउने कुरा बढी महत्वपूर्ण हो ।’

चुनाव हारेकाले राष्ट्रिय सभामा जानै हुँदैन भन्ने तर्क गलत
राष्ट्रिय सभाराजनीतिक दललाई चुनाव हरेका नेता थन्याउने ठाउँ भयो भन्ने भनाईले पछिल्लो समय निकै चर्चा पायो। हुन पनि दलहरुले राष्ट्रिय सभा गठनको उद्देश्य र विशेषता सँगै जुन मर्म आत्मसात गर्नुपर्ने थियो त्यसमा पटक पटक चुके पनि ।राष्ट्रिय सभालाई नेता व्यवस्थापनको थलो र आफ्नो दलगत स्वार्थको रूपमा मात्र उपयोग गर्ने गरेकै कारण सभाको गरिमामाथि टिकाटिप्पणी चारैतिरबाट भए ।

दलका नेताहरूको स्वार्थ व्यवस्थापन, गुट र हारेका नेताहरूको व्यस्वस्थापन तथा आफ्ना नजिकका मान्छेलाई रिझाउन पठाइने ठाउँको रुपमा सभालाई दलले प्रयोग गरेको भनि आलोचना भैरहँदा व्यवस्था प्रति औंला उठाउने ठाउँ दलका नेतृत्वले छोडेकै छन् ।

तर, उपाध्यक्ष घिमिरे भने निर्वाचन हारेको व्यक्ति राष्ट्रिय सभामा जानै नहुने बुझाई राख्नु गलत भएको तर्क गर्छिन् । संघीय निर्वाचन हारेको व्यक्तिलाई सोही अवधिभित्र सभामा ल्याउनु स्वभाविक नहुनेमा उनले जोड दिएपनि केही समयको अन्तरालमा निर्वाचन हारेका उपयुक्त व्यक्तिलाई दलले सभामा स्थान दिनुलाई उनी उचित मान्छिन् ।

उनले भनिन्, ‘चुनाव हारेकाहरु राष्ट्रिय सभामा आए भन्ने विषयमा संघीय निर्वाचनमा हारेकाहरु सोही अवधिमा राष्ट्रिय सभामा ल्याउनु त्यति राम्रो होइन भन्ने कुरा स्वभाविक हो । मेरो सन्दर्भमा स्थानीय तहको प्रमुखमा लडेको दुई वर्षपछि मात्रै राष्ट्रिय सभामा आएको हो । मेरो नाम जोडेर कुरा त आयो आएपनि हार्न त हारेकै हुँ । हारियो भन्दैमा राजनीति नगरि जिन्दगीभरी थपक्क बस्ने कुरा हुँदैन ।’ उनले थपिन, ‘ लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित हुँदैगर्दा पनि तत्कालिन समयमा पार्टी एकीकरण भएकाले हामी (तत्कालिन नेकपाका उम्मेदवार) लाईप्रदेश र स्थानीय सभामा मतदान गर्ने साथीहरुधेरै थिए । र पनि हाम्रो संख्या भन्दा पनि अझ धेरै संख्यामा मलाई भोट दिएर जिताए । हारेको र जितेको दुवै अनुभव रह्यो ।’

पार्टी भित्रकै संगठनहरुमा बढी सक्रिय भएर लागेकी उनी आफूमा निर्वाचनमा जाने इच्क्षा त्यति नहुँदा पनि कामको मूल्यांकनको आधारमा पार्टीले जिम्मेवारी दिँदा त्यसलाई स्वीकारेको सुनाउँछिन् ।

‘म पार्टी संगठनमै काम गर्न रुचाउने, पहिले देखि नै निर्वाचनमा जान्छु भन्ने इच्क्षा मेरो थिएन । समय क्रममा पार्टीभित्र काम गरेको मूल्यांकनको हिसावले मलाई पार्टीले अवसर दियो’ घिमिरेले भनिन् ।

संसदीय समिति प्रभावकारी हुनुपर्छ
चार वर्षे राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गरेर हालमात्रै उही सभाको उप सभामुख बनेकी घिमिरेसंसदीय समिति अझै बढी प्रभावकारी हुनुपर्नेमा जोड दिन्छिन् । राष्ट्रिय सभामा दलीय आधारमा पाएको समयमा बोल्नुपर्ने त्यो पनि औपचारिकता सहित, तर संसदीय समितिमा जुनसुकै विषयमा पनि औपचारिक सँगै कतिपय अनौपचारिक कुरा समेत गर्न पाउने छुटले घिमिरे संसदीय समिति र सभामा भिन्नता केलाउँछिन् । सभामा प्रस्तुत हुने विधेयक,होस कि कुनै विषय सो बारेमा सबै छलफल पूर्ण रुपमा संसदीय समितिमै हुने गर्छन् । त्यसपछि मात्र सभामा प्रस्तुत गरिने हो ।

‘सभामा बोल्दा एक त समयको अभाव हुने अर्को पार्टीको पाएको समयलाई हिसाब गरेर बोल्नुपर्ने हुनाले सधैं सबैले बोल्न पनि पाउँदैनन्। सदनमा निश्चित समयमा तयारीको साथ बोल्ने हो भने, त्यही कुरालाई हामीले समितिमा पर्याप्त छलफल गर्न सक्छौं । बोल्नलाई रोकावट समितिमा त्यति धेरै हुँदैन । एकै दिनमा प्रस्तुतविषयमा सबैले बोल्न पाउँछन । सदनमा बढी औपचारिकता हुन्छ भने समितिमा केही कुरा अनौपचारिक रुपमा गर्न पनि पाइन्छ र समय पर्याप्त हुन्छ । खास विषयमा छलफल समितिमै हुन्छ,निश्चित कुराहरु मात्रै सदनमा बोल्ने भएको हुनाले दुई बीचमा भिन्नता छ । समितिनै प्रभावकारी हुनुपर्छ भन्ने मलाई लाग्छ, । संसद प्रभावकारी हुनुपर्नेमा दुई मत छैन,’राष्ट्रिय सभाका चार वर्षे अनुभव उनले यसरी सुनाइन् ।

मिडियाको उपेक्षा
राष्ट्रिय सभालाई मिडियाले उपेक्षा गरेकोउपाध्यक्ष घिमिरेको गुनासो छ । प्रतिनिधि सभालाई जस्तो महत्व राष्ट्रिय सभाले मिडियामा नपाएको सुनाउँदै उनले भनिन्, ‘प्रतिनिधिसभामा अलि बढी मिडियाको पनि ध्यान जाने,राष्ट्रिय सभामा त्यति धेरै ध्यान नजाने । कतिपय राष्ट्रिय सभाको समाचारमा प्रतिनिधि सभाको फोटो हाल्ने गरेको पनि मैले पाएको छु । त्यतिमात्रै होइनकहिलेकाँही एउटा समितिको समाचार लेखेर अर्को समितिको फोटो हालिरहेको पाइन्छ । समग्रमा राष्ट्रिय सभालाई मिडियाले कम महत्व दिएका छन् ।’ उनले थपिन, ‘अर्को सभामा पनि महिलालाई मिडियाले कम महत्व दिए भन्ने टिप्पणी भैरहन्छ । त्यसमामिडियाको फेरी आफ्नै तर्क छ । महिलाले राम्रै कुरा बोलिरहेको हुन्छन् तर, मिडियाले स्थान नदिएको गुनासो आउने गरेको छ । यो दुवै पक्षको बीचमा रहेर हामीले अब काम गर्नुपर्ने छ ।’

अस्थिर सरकार
संसदमा प्राय उठिरहने,कतिपय दलका सांसदले सदनमा निरन्तर उठाइरहने तर समाधान नभएका मुद्दाहरुमा सरकारको अस्थिरताले समाधान हुन नसकेको ठम्याइ उनको छ । उखु किसानले हरेक वर्ष भोग्दै आएको सरकारले समयमै उखुको मूल्य नतोकिदिने,भुक्तानी नपाउने, रासायनिक मल अभाव देखि दुग्ध किसानका समस्या भ्रष्टाचार,नक्कली शरणार्थी प्रकरण, सुनको अवैध तस्करी प्रकरण जस्ता समस्याज्युँका त्युँ रहनुमा अस्थिर सरकार नै मुख्य कारण रहेको बुझाइ उनको छ ।

‘यस्तो हुनुको मुख्य कारण अस्थिर सरकार नै हो । सदनमा सरकारले मुद्दा उठाउने हो, लागु गर्ने गराउने त सरकारले नै हो । विषयवस्तु उठिसकेपछि त्यसको जवाफ सरकारले दिने र संसदीय समितिबाट निदेशन भएका कुराहरु पालना गर्नुपर्ने हो । कतिपय विषयमा सभाले पनि सरकारलाई ध्यानाकर्षण गरेको हुन्छ । अब सरकारले पालना नगरेपछि सांसदले बोले त्यसपछि हरायो भन्ने जनतामा परेकै छ । म आफैं सदस्य हुँदा यसमा गुनासो गर्थे ।’

अबको बजेट अधिवेशनमा सरकारलाई जनताप्रति जवाफदेही बनाएर प्रतिनिधिमा मात्रै नभएर राष्ट्रिय सभामा समेत विधेयक दर्ता गराउने र छिटो गरी दुवै सभाबाट विधेयक पास गराउनुपर्नेमा उनले जोड दिइन् । कतिपय कानूनहरुको उत्रविधायकी परिक्षण गर्नुपर्ने समय भएकोले त्यसमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उपाध्यक्ष घिमिरेले मौलिक हकका सन्दर्भमा आवश्यक कानून निर्माणलाई तिव्रता दिनुपर्ने, प्रतिनिधि सभामा भएका विधेयकलाई कानूसम्मत सरकारले छिटो अगाडि बढाएर टुंग्याउनुपर्ने बताइन ।

‘बजेट अधिवेशन भन्दैमा बजेटमात्र छलफल हुने होइन। यसमा हामी विधेयकपनि अगाडि बढाउँछौं । राष्ट्रिय सभामा त विधेयक छैनन, प्रतिनिधिमा कतिपय दर्ता भएर रोकिएको मिडिया विधेयक र कतिपय नयाँ ल्याउने विधेयकहरुलाई सरकारले जतिसक्दो छिटो अगाडि बढाउनुपर्छ । त्यसको मतलब फास्ट ट्रयाकबाट जानुपर्छ भनेको होइन कि रोकिएका विधेयकहरु समितिले पनि अगाडि बढाउनुपर्छ, प्रतिनिधि सभाले पनि अगाडि बढाएर राष्ट्रिय सभामा पठाउनुपर्छ ।’

उनले थपिन, ‘मिडिया काउन्सिल विधेयकको जुन कुरा आएको छ सरकार अघिल्लो पटक पनि एकलौटी रुपले जान खोजेर व्याक भएको हो । सरकारले त्यसलाई सरोकारवालासँग छलफल गरेर सकेसम्म संमृद्ध बनाएर ल्याउनुपर्छ । प्रकृया एकातिर सम्झौता अर्कोतिर गरेर विधेयकहरु लयाउने र पछि व्याक हुने प्रवृति अबको अधिवेशनमा सरकार र सरोकारवाला निकाय कसैले पनि गर्नु हुँदैन ।’ उनले थपिन, ‘विधेयकहरुलाई व्यवस्थित ढंगले अगाडि बढाएर छिटो छरितो ढंगले यसलाई पास गर्ने कुरामा हामी सरकारलाई सहजीकरण गछौ । यही गर्दा मात्र सदन प्रभावकारी ढंगले सञ्चालन हुन सक्छ।’ (नेपाल न्यूज बैंकसँगको विस्तृत सम्वादको अंश)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?