बर्तमान सरकारको आयु लामो छैन : प्रकाशशरण महत


वैशाख २२, काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको बताएका छन्।

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको अन्तरक्रियामा उनले वर्तमान सरकारको आयु चाडै टुङ्गिने बताए । उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ। यसकै कारणले यसको आयु चाडै टुङ्गिनेवाला छ। र चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होईन्, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चहान्छु।’

यस्तै, उनले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने भन्दै यसमा बहस चलाउन आवश्यक भएको पनि बताए। उनले नेपालको राजनीति काङ्ग्रेसको कारणले अन्यौलग्रस्त नभएको भन्दै अस्थिरता निम्ताउने र त्यसमा रमाउने प्रवृत्तिलाई निस्तेज गर्नुपर्ने बताए।

उनले भने, ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्यौलग्रस्त भएको होईन्। काङ्ग्रेसको कारणले अस्थिरता आएको होईन्। जसले अस्थिरता निरन्तर रुपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ। नेपालको विकासको लागि घातक छ। नेपालको उन्नती र देशमा रोजगारी सिर्जनाको लागि घातक छ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?