निर्वाचित भएपछि सुहाङले भने : ‘मुलुकलाई समृद्धिको बाटोमा लैजाने ऐतिहासिक जिम्मेवारी पाएको छु’


वैशाख १८, इलाम । इलाम २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका एमालेका नेता सुहाङ नेम्बाङले सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने बताएका छन्।

मंगलबार विहान शुभेच्छुक, पार्टीका प्रतिनिधि र मतदाताहरुलाई धन्यावाद ज्ञापन गर्दै उनले भनेका छन्, ‘हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ। सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौं जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ। हाम्रो राष्ट्रगानले भने जस्तै यो सयौं थुङ्गा फूलहरु मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो। विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामथ्र्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु। हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो।’

उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका नेताहरुको भावनालाई शिरमा राख्ने उनले संकल्प गरेका छन्।

नेम्वाङ कांग्रेसका डम्वरबहादुर खड्कालाई ५ हजार ३० मतले उछिन्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन। नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन।

यस्तै पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन । उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?