कोभिड-१९ विरुद्ध खोप बनाउने चिनियाँ वैज्ञानिकलाई भ्रष्टाचारमा कारबाही


वैशाख १७, काठमाडौं । कोभिड–१९संक्रमणको महामारीका बेला प्रतिरोधात्मक खोपको विकास गर्ने पहिलो चिनियाँ वैज्ञानिकलाई भ्रष्टाचारको आरोप लागेको छ । उनले सन् २०२० मा खोप बनाएका थिए । तर, भ्रष्टाचारको आरोपमा मुछिएपछि उनलाई चीनको संसद (जनकंग्रेस) बाट बर्खास्त गरिएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी), चाइना नेशनल फर्मास्युटिकल ग्रुपको सहायक कम्पनीका अध्यक्ष याङ सियाओमिङलाई भ्रष्टाचार र कानुन उल्लंघनको आरोप लगाइएको छ । जसका कारण उनको राष्ट्रिय जनकंग्रेस (एनपीसी) को सदस्यता खारेज गरिएको छ ।

एनपीसीले विज्ञप्ति जारी गर्दै याङमाथि पार्टीको अनुशासन समितिले पहिले नै अनुसन्धान गरिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

६२ वर्षीय याङ सियाओमिङ एक अनुभवी अनुसन्धानकर्ता हुन् । उनले चीनको पहिलो कोरोनाभाइरस खोप, बीबीआइबीपी खोप विकास गर्ने टोलीको नेतृत्व गरेका थिए । पछि यो खोपले सामान्य प्रयोग स्वीकृत पाएको थियो ।

कोरोना भाइरसको पहिलो केस मार्च २०२० मा चीनको वुहान सहरमा देखिएको थियो र पछि विश्वभर फैलिएको थियो । त्यसपछि यो रोगका कारण विश्वभर धेरै मानिसको मृत्यु भएको थियो ।

यसअघि याङलाई कोरोना महामारीसँग लड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि गरिएको थियो । त्यसपछि, उनलाई विज्ञान र चिकित्सा क्षेत्रमा चिनियाँ वैज्ञानिकहरूलाई दिइने ‘लेउङ हो ली’ फाउन्डेसन पुरस्कार पनि प्रदान गरिएको थियो ।

उनीमाथि भएको कारबाहीले संसारभरका स्वास्थ्य अनुसन्धानकर्ता स्तब्ध छन् । विगत केही वर्षदेखि चिनियाँ राष्ट्रपति सी चीनफिङले देशभर भ्रष्टाचार विरोधी अभियान चलाइरहेका छन् ।यसैबीच याङको बर्खास्तीलाई चीनको स्वास्थ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो कारबाही मानिएको छ ।

सरकारी अधिकारीहरुले यो कारबाहीको उद्देश्य स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचारलाई जरैदेखि उखेल्ने हो भनेका छन् । अनुसन्धानका क्रममा चीनका धेरै अस्पतालका प्रमुखहरूलाई हिरासतमा राखिएको छ । यसबाहेक सिनोफार्मका अर्का पूर्व वरिष्ठ अधिकारी झोउ बिनलाई पनि अनुसन्धानको दायरामा राखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?