इलाम–२ मतगणना : एमालेका सुहाङ १९०० मतले अगाडि


वैशाख १७, काठमाडौँ । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार नेम्वाङले एक हजार ९ सय मतले अग्रता लिए हुन्।

मतान्तर बढाउँदै लगेका नेम्वाङले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को गणना सकिँदा ७ हजार ३३ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार १ सय ९ मत ल्याएर पछ्याइरहेका छन्। एमाले र कांग्रेसका उम्मेदवारबीचको मतान्तर एक हजार ९ सय २४ छ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले तीन हजार ५ सय १३ मत प्राप्त गरेका छन्। अहिलेसम्म १७ हजार ३७५ मत सदर भएको छ। त्यस्तै २१७ मत बदर भएको छ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?