सहकारी संचालकहरुको सम्पत्ति विक्री गरेर बचत फिर्ता गरिने


वैशाख १४, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी संचालकहरुले आफन्तको नाममा राखेको सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन्।

शुक्रबार सरकारले फास्ट ट्रयाकबाट सहकारीका समस्या समाधान गर्ने भएपछि सहकारी पीडितले गृहमन्त्री रवि लामिछानेलाई धन्यावाद दिन आयोजित कार्यक्रममा उनले साना बचतकर्तालाई प्राथमिकतामा राखेर सम्पत्ति रोक्का गर्ने, तत्काल बनाउने र सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनले भने,‘सम्पत्ति आफ्नो नाममा राख्न नमिल्ने भएर आफन्तहरुको नाममा राखेका छन्। आफन्तको नाममा राखेको छु भनेर जोगिन्छु भनेर सोचिरहेको होलान। आफन्त, गरिब थियो रातारात कसरी धनी भयो भनेर हेर्ने समय सरकारसँग छ। गृह मन्त्रालयसँग पनि छ। सम्पत्ति शुद्धिकरण विभागसँग पनि छ। तर इच्छा शक्ति हुनुपर्याे।’

मन्त्री लामिछानेले मन्त्रालयलको प्राथमिकतामा साना बचतकर्ता रहेको उल्लेख गर्दै तत्काल कानुन बनाएर कार्यन्वयनमा लैजाने र चाँडै समस्या समाधान गर्ने बताए।

उनले फास्ट ट्रयाकबाट सहकारीको समस्या समाधान गर्ने निर्णय नै गरिसकेको भन्दै फास्ट ट्रयाकबाट सम्पत्ति रोक्का गरी विक्री वितरण गर्ने न्यायिक अधिकार कानुनी रुपमा लिने बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?