पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैद


वैशाख १३, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद महताभ आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाईसँगै शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको हो। मुद्दामा प्रतिवादीमध्येका मुक्ति साहले सफाइ पाएका छन्।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको साबिक राजपुर फरहदवा–४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो।

उक्त विस्फोटमा परी स्थानीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। विस्फोटको घटना र त्यसपछिका प्रमाण नष्ट गर्न सिंह र मियाँलाई इँटाभट्टामा जलाएर मारेको अभियोग नेता आलम, उनका भाइ महताब आलम र शेख सराजसहित ११ जनामाथि थियो।

कांग्रेस नेता आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए भने सोही वर्ष कात्तिक १८ गते उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो। पक्राउ परेको डेढ सातापछि जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनी हाल नख्खु कारागारमा छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?