कतारी अमिर शेख थानीको नेपाल भ्रमण : दुई देशबीच एक सम्झौता, सात समझदारीपत्रमा हस्ताक्षर


वैशाख १२, काठमाडौँ । नेपाल र कतार दुई देशबीचमा सहकार्य गर्न विभिन्न सात समझदारीपत्रमा हस्ताक्षर र एउटामा सम्झौता भएको छ। दुई दिने राजकीय नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलबीच आज भएको भेटवार्तापछि उक्त सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बुधबार दुई पक्षबीचमा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुईटा क्षेत्रमा काम गर्ने समझदारी भएको छ। नेपालको राष्ट्रिय समाचार समिति र कतार न्युज एजेन्सीबीचमा समाचार आदान प्रदान गर्ने एकमात्र सम्झौता भएको हो ।

यस्तै, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयबीच संस्कृति र कलाको क्षेत्रमा सहकार्य गर्ने, नेपाल सरकार र कतार राज्य सरकार बीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने, युवा र खेलकुदको क्षेत्रमा काम गर्न सहयोग सम्बन्धी,नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यका गर्ने, नेपालको परराष्ट्र मामिला संस्थान र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोग गर्ने गसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

साथै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि निजी तहबाट दुईवटा सम्झौता भएका छन् । जसमा नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना गर्ने सम्झौता भएको हो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीबिच नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना गर्ने सम्झौता भएको उल्लेख छ।
मंगलबार दुई दिने नेपाल भ्रमणमा काठमाडौं आएका कतारी शेख थानी आजै अपरान्ह्र भ्रमण सकेर स्वदेश फर्किसकेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?