चेन्नई लखनउसँग ६ विकेटले पराजित


वैशाख १२, काठमाडौं । मार्कस स्टोइनिसले अविजित १२४ रनको शतकीय योगदान दिँदा इण्डियन प्रिमियर लिग (आइपीएल)मा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

चेन्नईमा भएको खेलमा स्टोइनिसको आक्रामक ब्याटिङका कारण घरेलु टिमले दिएको २११ रनको लक्ष्य लखनउले १९ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा गर्याे। उनले ६३ बलमा १३ चौका र ६ छक्का प्रहार गरेका थिए।

ओपनर क्वीन्टन डि ककलाई पहिलो ओभरमै गुमाएको लखनउका लागि निकोलस पुरनले ३४, दिपक हुडाले १७, केएल राहुलले १६ तथा देवदत्त पड्डिकलले १३ रन जोडे। बलिङतर्फ मथिसा पाथिरानाले दुई विकेट लिँदा दिपक चहर र मुस्ताफिजुर रहमानले एक एक विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा चार विकेट गुमाउँदै २१० रन बनाएको थियो। उसका लागि कप्तान रुतुराज गायकवार्डले अविजित १०८ रनको शतकीय योगदान दिए। ६० बलको सामना गरेका गायकवार्डले १२ चौका र तीन छक्का प्रहार गरेका थिए। यस्तै शिवम् दुबेले पनि २७ बलमा सात छक्का र तीन चौकाको मद्धतमा ६६ रन बनाएका थिए।

जितसँगै लखनउ आठ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट आठ अंक जोडेको चेन्नई पाँचौं स्थानमा छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?