इलाम २ मा पाँच सय ४७ नयाँ मतदाता, विद्यार्थीलाई दोहोरो चिन्ता


वैशाख ४, इलाम । इलामको निर्वाचन क्षेत्र २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ कायम गरिएको छ। अघिल्लो निर्वाचनभन्दा अहिले पाँच सय ४७ मतदाता थपिएका छन्।

वैशाख १४ सम्ममा १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि अबको पुरुष मतदाता संख्या ५९ हजार १८ र महिलाको संख्या ५६ हजार आठ सय ६९ हुने भएको निर्वाचन आयोगले जनाएको छ।

क्षेत्र २ मा पाँच पालिकाका ४२ वटा वडा पर्छन् । इलाम नगरपालिकाका १२ वटा वडामध्ये १० बाहेक सबै क्षेत्र २ मा पर्छन्। यी वडाको कुल मतदाता संख्या ३४ हजार ४५ छ।

देउमाई नगरमा २६ हजार तीन सय ६५, चुलाचुलीमा १८ हजार पाँच सय ४५, फाकफोकथुममा १६ हजार तीन सय दुई, माङ्सेबुुङमा १२ हजार पाँच सय ३६ र माई नगरका वडा ६, ७, ८ मा आठ हजार ९६ मतदाता रहेको आयोगको तथ्यांकमा उल्लेख छ। २०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए।

क्षेत्र २ मा अहिले ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन्। सुरक्षा निकायले सबै मतदानस्थललाई ‘अति संवेदनशील’ भनेको छ। प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुनलागेको देशभरको एउटैमात्र निर्वाचन क्षेत्र भएकाले यहाँका सबै मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको हो।

यसपाली पाँच सय ४७ मतदाता थपिए पनि कक्षा १२ को परीक्षा वैशाख १४ देखि र स्नातक तह दोस्रो वर्षको परीक्षा वैशाख १६ देखि हुने भएपछि परीक्षार्थीले मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ। कतिपय परीक्षा केन्द्र नै मतदानस्थल पनि भएकाले परीक्षामा बाधा पुग्नेसमेत देखिएको छ।

इलाम २ का ६ विद्यालयमा मतदान केन्द्र पनि छ। चुलाचुलीको भानु मावि, फाकफोकथुमको सिंहदेवी मावि, मंगलबारेको भानुभक्त मावि र बरबोटेको अमर उच्च मावि परीक्षा केन्द्रमा मतदान केन्द्र छन्।

एउटा विद्यालयमा करिब दुई सय विद्यार्थीले कक्षा १२ को परीक्षा लेख्नेछन्। आफ्नो परीक्षा केन्द्रमा परीक्षा दिएर आफ्नो मतदान केन्द्रमा जान यी विद्यार्थीलाई सम्भव नहुने बताइएको छ। परीक्षा र निर्वाचन एकदिन पर्दा मतदातासमेत रहेका विद्यार्थीलाई दोहोरो चिन्ता थपिएको छ।

स्नातक दोस्रो वर्षको परीक्षा पनि वैशाख १६ गते बिहानदेखि हुँदैछ। सदरमुकाममै रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा परीक्षा दिन आउने विद्यार्थी १५ गतेको मत खसालेर आउन सक्ने अवस्था नरहेको क्याम्पसस्थित त्रिवि प्राध्यापक संघ कोषाध्यक्ष विमला पोख्रेलले बताइन्।

गत भदौ २६ मा यो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि १२ दल र सात उम्मेदवार चुनावी मैदानमा छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?