ढकाल र जोशी एआइजी बढुवाका लागि सिफारिस, अर्याल र गुरूङ डिआइजी


वैशाख ४, काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले डिआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो।

एआइजीद्धय मिरा चौधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाँदैछन्। भण्डारी मंगलबार र चौधरी वैशाख ६ गतेबाट अवकाशमा जाने तयारीमा छन्। सोही रिक्त पदमा प्रहरी प्रधान कार्यालयले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो।

त्यस्तै, प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्।

मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो। अर्याल प्रहरीका साइबर विज्ञ समेत हुन्। हाल उनी साइबर ब्युरोका प्रमुख समेत हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?