लोकसभा चुनावमा मतदान गर्न युवालाई आयुष्मानको आव्हान


चैत २०, मुम्बई । विश्वका प्रभावशाली व्यक्तिका रुपमा दुई पटक ‘टाइम म्यागाजिन पुरस्कार’ विजेता अभिनेता आयुष्मान खुरानालाई भारतको चुनाव आयोगले आगामी २०२४ को लोकसभा चुनावमा युवालाई मतदान गर्नका लागि आग्रह गर्न नियुक्त गरेको छ।

यो अभियानको माध्यमबाट आयुष्मान देशका युवालाई अगाडि आएर संसदमा देशका आगामी नेता छनोट गर्ने अधिकार प्रयोग गर्न आव्हान गर्नेछन्।

भारतीय निर्वाचन आयोग नयाँदिल्लीका मतदाता शिक्षाका निर्देशक सन्तोष अजमेराले चुनावी भागिदारीमा शहरी र युवाहरुको उदासिनताको मुद्दालाई सम्बोधन गर्नका लागि हालै ईसीआई अभियान टीवीसीका लागि आयुष्मानको अमूल्य र निःशुल्क समर्थनको सराहना गरेका थिए।

‘फिल्म व्यक्तिगत व्यवहारमा एक टिप्पणी हो, जसमा मतदानको दिनप्रायः छुट्टीका रुपमा मानिन्छ। यो समयमा मतदान नगर्नका लागि सयौं बहाना बनाइन्छ। त्यहीकारण आयुष्मान कसैलाई भोट किन दिने भनेर कारणसहित एक सुन्दर सन्देश भन्नेछन्। उनको काम अत्यन्त विश्वसनीय र प्रभावाली छ र उनका फलोअर्स विशेषत युवा पिढी निकै मन पराउँछन्।

ईसीआईले भविष्यप्रति एक महत्वपूर्ण लोकतान्त्रिक अभ्यास र कर्तव्यका रुपमा, युवालाई मतदानका लागि प्रेरित संगठित गर्नका लागि आयुष्मानको क्षमता र पहुँचको उपयोग गर्ने प्रयास गर्नेछन्’, सन्तोषले भनेका छन्।

आयुष्मानले आफूलाई भारत सरकारले नियुक्त गरेकोमा खुशी व्यक्त गरेका छन्। ‘जोकोहीले मतदान गर्नुपर्छ र राष्ट्र निर्माणको प्रक्रियामा भाग लिएर जागरुक नागरिक बन्नुपर्छ।

संसदमा देशको प्रतिनिधित्व गर्ने, हाम्रो आवश्यकताको प्रतिनिधित्व गर्ने नेताहरुलाई चुन्ने शक्ति हामीसँग छ। हरेक भोटले महत्व राख्छ र हरेक भोट महत्वपूर्ण छ। हाम्रो जस्तो लोकतान्त्रिक देशमा मतदान सशक्तिकरणको प्रतिक हो’, उनले भनेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?