वान्टेड २’ मा सलमानको चासो


चैत १९, मुम्बई । बलिउड अभिनेता सलमान खानका फ्यानका लागि एउटा खुशीको खबर छ। १६ वर्षअघि निर्माण भएको फिल्म ‘वान्टेड’को अब सिक्वेल बन्ने भएको छ । फिल्मका निर्माता बोनी कपूरले यसको पुष्टि गरेका हुन्।

सलमानको करिअरका लागि सन् २००८ एउटा ‘ल्याण्डमार्क’ नै रह्यो। उक्त वर्ष रिलिज भएको उनका फिल्म ‘वान्टेड’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो। यो फिल्मपछि सलमानको करिअरले नयाँ गति लिएको थियो। सलमानको करिअरमा ‘वान्टेड’लाई निकै महत्वपूर्ण फिल्म मानिन्छ। यो फिल्मको सिक्वेलका लागि सलमानका फ्यानहरु १६ वर्षदेखि प्रतीक्षामा छन्।

तर निर्माता बोनी कपूर र सलमानको सम्बन्धमा आएको खटपटले फिल्म ‘वान्टेड २’ बन्ने सम्भावना नरहेको फिल्म विश्लेषकहरुको आकलन थियो। तर अहिले भने बोनीले सलमानलाई लिएर ‘वान्टेड २’ बन्ने निश्चित गरेका छन्।

बोनीले जूमसँग गरेको अन्तर्वार्तामा उनले आफ्ना यादगार फिल्मको सिक्वेल र रिमेक बनाउने विषयमा बोलेका छन्। उनले फिल्म उद्योगका केही व्यक्तिले ‘हम पाँच’को रिमेक बनाउनका लागि कुराकानी गरेको खुलाएका छन्।

‘मिस्टर इण्डिया बन्न सक्दैन, किनकी यसमा एक तत्व चाहिन्छ, जुन अब पाइँदैन। ‘जुदाई’मा टेलिभिजन शो बनिसकेको छ। ‘वान्टेड’को चाहिँ सिक्वेल म बनाउँछु’, उनले भनेका छन्।

उनले अगाडि भनेका छन्, ‘मैले यो विषयमा कुरा गरेको छु। मैले सलमानलाई अब यो फिल्म तपाईं नबनाउनु म बनाउँछु र म चाहन्छु कि तपाईं यसमा काम गर्नु भनेँ । उनले ‘ठीक छ बोनी सर, म यो गर्छु’ भनेका छन्। म ‘वान्टेड २’ लाई लिएर अगाडि सोचिरहेको छु।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?