उपाध्यक्षबाट उर्मिला अर्यालको राजीनामा, नेकपा एसको दाबी कायम


चैत १५, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्। बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उनले राजीनामा पत्र बुझाएकी हुन्।

माओवादी केन्द्रबाट उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध निर्वाचित भएकी अर्यालले हाल सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादीको तर्फबाटै नारायण दाहाल निर्वाचित भएपछि विहीबार राजीनामा बुझाएकी हुन्।

राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिने यसअघि सहमति भएपनि नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट उपाध्यक्षको आकांक्षा राखेको छ।

गठबन्धन दलबीच उपाध्यक्ष नेकपा एस वा अरु कसैले लिने भन्ने औपचारिक सहमति भने भएको छैन् । नेकपा एस सरकारमा आउनुअघि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई जोडबलका साथ गठबन्धन सरकारमा सहभागी हुन सहमत गराएका थिए । सो क्रममा उपाध्यक्ष एसलाई दिने साथै माधव नेपाललाई आलोपालो प्रधानमन्त्री बनाउने सहमति भएको बुझिएको छ।

एमालेले शक्ति सन्तुलनको सिद्धान्तलाई ख्याल गर्दै उपाध्यक्ष एसलाई दिन सहमत भएको बुझिएको छ। दाहाल नेतृत्वको पुर्नगठित सरकारलाई सुदृढ र सफल पार्ने लक्ष्यका साथ भएको सात बूँदे समझदारी पत्रमा हस्ताक्षर गर्ने क्रममा उपाध्यक्षका सवालमा अन्य दल लचक भएको बुझिन्छ। एकीकृत उपमहासचिब प्रकाश ज्वालाले उपाध्यक्ष आफ्नो पार्टीले लिने सहमति भइसकेको दाबी गर्दै आएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?