‘कृष-४’ को तयारी सुरु


चैत १३, मुम्बई । बलिउडको लोकप्रिय सुपरहिरो फ्रेञ्चाइजी ‘कृष’को चौथो संस्करणको तयारी सुरु भएको छ। फिल्मका निर्देशक राकेश रोशन ‘कृष ४’लाई फ्लोरमा लैजानका लागि तयारी अवस्थामा छन्।

राकेश र उनका अभिनेता छोरा ऋतिक रोशन ‘वार २’को छायाङ्कन पुरा हुनासाथ ‘कृष ४’मा व्यस्त हुनेछन्। ‘कृष ४’का लागि आफूले गर्नुपर्ने तयारीका लागि ऋतिकले समय छुट्याइसकेका छन्। ऋतिक र राकेश यसपटक दर्शकलाई उनीहरुको सोचाई र आशा भन्दापनि परको कथालाई देखाउने योजनामा छन्। त्यहीकारण फिल्मको स्क्रिप्टमा निकै मेहनत गरेका छन्।

ऋतिक सन् २०२५ मा ‘कृष ४’को सुटिङ सुरु गर्ने योजनामा छन्। फिल्मको प्लटलाई लिएर धेरै जानकारी बाहिर आएको त छैन, तर यसपटक फिल्ममा अन्तरिक्षको यात्रालाई प्राथमिकता दिएको फिल्म निकट स्रोतले बताएको छ।

यसअघि फिल्मको कथामा ‘कृष ४’ ले अन्तरिक्ष यात्राको दायरालाई पत्ता लगाउने बताइएको थियो। जसका लागि फिल्मको टिमले गहन अध्ययन गरिरहेको छ। त्यहीकारण सुपरहिरोको यात्रालाई अगाडि बढाउने योजनासहित कथा खोज्नमा फिल्म निर्माण टिमले लामो समय विताइसकेको छ।

फिल्म फ्रेञ्चाइजीको सुरुवात फिल्म ‘कोई मिल गया’बाट भएको थियो। जसमा प्रीति जिण्टा र रेखा प्रमुख भूमिकामा थिए। यसको दोस्रो सिक्वेलका रुपमा ‘कृष’मा ऋतिकका साथ प्रियंका चोपडा प्रमुख भूमिकामा थिइन्। ‘कृष ३’मा पनि यो जोडी थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?