प्रत्येक भेटघाटको पारिश्रमिक लिने अनुरागको घोषणा


चैत ११, मुम्बई । बलिउड निर्माता तथा निर्देशक अनुराग कश्यपले अब आफ्ना हरेक मिटिङमा पारिश्रमिक लिने घोषणा गरेका छन्। आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमा एक लामो पोस्ट शेयर गर्दै फिल्मकर्मीलाई रिस पोखेका छन्। उनले छिटो–छिटो सफलता चाहनेमाथि पनि आक्रोश पोखेका छन्।

‘मैले आफ्नो लामो समय नयाँ अनुहारलाई सहयोग गर्नमा बर्बाद गरें। जसमा बढी मिडियामा आउन चाहने नै थिए। अब म आफ्नो समय बर्बाद गर्न चाहन्नँ। जसलाई मलाई क्रिएटिभ जिनियस मान्छ, म उसँग अब पैसा लिएर मात्र सल्लाह दिन्छु। यदि मसँग कोही भेटघाट गर्न चाहन्छ भने १० देखि १५ मिनेटका लागि १ लाख रुपैंयाँ पारिश्रमिक लिन्छु। आधा घण्टाका लागि २ लाख र १ घण्टाका लागि ५ लाख रुपैंयाँ लिनेछु। म मान्छेलाई भेटेर थाकिसकेको छु। यदि तपाईंलाई मेरो सर्त मनपर्छ भने कि मलाई फोन गर्न सक्नुहुन्छ या मबाट टाढा रहन सक्नुहुन्छ’, उनले लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘पैसा दिनुहोस् र आफ्ना लागि समय लिनुहोस्। म च्यारिटी गर्दिनँ। म च्यारिटी गरेर थाकिसकेको छु।’अनुरागको यो पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। उनको पोस्टमा उनकी छोरी आलियाले कमेन्ट गरेकी छन्। ‘म यो सन्देशलाई मेरो डिएममा ती व्यक्तिलाई पठाइरहेकी छु, जसले मलाई आफ्नो स्क्रिप्ट इमेल गर्छन्। उनीहरुलाई यो सन्देश फरवार्ड गर्न चाहन्छु’, आलियाले लेखेकी छन्।

निर्देशक शेखर कपूरले पनि अनुरागको पोस्टमा समर्थन गरेका छन्। ‘साँच्चै अनुराग। म पनि कैयौं पटक यस्तो अनुभव गरिरहेको छु’, उनले कमेन्ट गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?