स्वरालाई लोकसभाको टिकट दिँदै काँग्रेस


चैत १०, मुम्बई । बलिउड अभिनेत्री स्वरा भास्कर अभिनयको दुनियाँमा निकै लोकप्रिय अभिनेत्री हुन्। अभिनयबाहेक उनी हरेक मुद्धामा खुलेर कुरा राख्छिन्। यिनै स्वरा अब लोकसभा चुनावको तयारीमा छिन्।

समाचार अनुसार काँग्रेस मुम्बईले स्वरालाई लोकसभाको टिकट दिने योजना बनाएको छ। यद्यपि काँग्रेस र स्वराबाट कुनै प्रतिक्रिया नआए पनि स्वरा निकटले भने यो खबरको पुष्टि गरेका छन्।

स्वराका पति फहद अहमद समाजवादी पार्टीका नेता हुन्। त्यहीकारण पनि स्वरा पतिको राजनीतिलाई पछ्याउन भित्री तयारी गरिरहेकी छन्। काँग्रेसले स्वरालाई मुम्बईको उत्तर–मध्य सिटबाट लोकसभाको टिकट दिने तयारी गरेको छ। यो सिटमा बिजेपीकी पुनम महाजन सांसद छिन्।

स्वरा यतिबेला काँग्रेसका ठूला नेताको सम्पर्कमा छिन्। स्वरा प्रायः बीजेपीको नीतिको विरोध गरिरहन्छिन्। उनले सीएएको विरोधमा आयोजित एक जनसभामा हिस्सा लिएकी थिइन्। उनी काँग्रेस नेता राहुल गान्धीको भारत–जोडो न्याय यात्रामा देखिएकी थिइन्।

स्वराले समाजवादी नेता फहदसँग सन् २०२३ को फेब्रुअरीमा विवाह गरेकी थिइन्। उनीहरुको एक छोरी छन्। स्वरा र फहदको पहिलो भेट सन् २०१९ मा एक प्रदर्शनका समयमा भएको थियो। त्यसपछि उनीहरु नजिकिन थालेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?