महिला टिमकी पहिलो कप्तान नेरीले लिइन् सन्यास


चैत ६, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षिय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरिन्। उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन्।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबाट सन्यास लिएको हो। तर सम्झनाबाट होइन। मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो। मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन।’

बाँकेबाट राष्ट्रिय क्रिकेटमा पाइला अघि बढाएकी नेरीको कप्तानीमा नेपालले सन् २००७ मा एसीसी महिला च्याम्पियनसिप खेलेको थियो। त्यो नै महिला सिनियर क्रिकेट टिमले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

नेरीको कप्तानीमा यु–१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु–१९ महिला च्याम्पियनसिपको उपाधि पनि जितेको थियो। नेरी घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी पनि हुन्।

उनले तत्कालिन क्षेत्रनम्बर ५ बाट खेल्दै काठमाडौंविरुद्ध शतक बनाएकी थिइन्। २०७० सालमा शतक बनाउँदा उनले काठमाडौंविरुद्ध १२१ रन जोडेकी थिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?