‘रुमानी रङ’ का लागि अष्ट्रेलियामा अडिसन, २१६ अष्ट्रेलियन नागरिकले दिए आवेदन


फागुन २७, काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने फिल्म ‘रुमानी रङ’का लागि अष्ट्रेलियामा विदेशी कलाकारको छनोट गरिने भएको छ।

फिल्मका लागि अष्ट्रेलियाको लाइन प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले अष्ट्रेलियामा त्यहाँकी अभिनेत्रीका लागि अडिसन हुने जनाएको छ। सोही अडिसनमा अन्य पाँच विदेशी कलाकार पनि छानिने छन्।

कम्पनीका अनुसार अडिसनका लागि हालसम्म २ सय १६ जना अष्ट्रेलियन नागरिकले अनलाइनमार्फत आवेदन दिएका छन्। यो संख्याबाट उत्कृष्ट १० छनोट गरी त्यसबाट एक अभिनेत्री छनोट गरिनेछ।

जीएम ठकुरीको प्रस्तुति र निर्माण रहने फिल्ममा अनिल योञ्जनको पटकथा, संवाद र निर्देशन रहनेछ। ग्लोबल मिडियाले निर्माण गर्न लागेको ‘रुमानी रङ’मा आविस्का बहुसञ्चार प्रालिले निर्माणमा सहकार्य गर्दैछ। फिल्मलाई नेपालमा काफिया फिल्मस् र कुबेर सिने फिल्मस्ले प्रदर्शन गर्नेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?