विरोधकाबिच ‘अग्र अनुहार’ को विमोचन, केहीले पुस्तक च्याते


माघ २८, काठमाडौं । नेपाल पत्रकार महासंघका अहिलेसम्मका सभापतिहरुहको बारे लेखिएको पुस्तक ‘अग्र अनुहार’ विमोचन गरिएको छ। आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अवरोधका बाबजुद आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि पुस्तकको विमोचन गरिएको हो।

लामो समयदेखि कायम रहेको महासंघको संस्थापक सभापतिको विवादलाई लिएर फोनिजका पदाधिकारीले अग्रज पत्रकारहरूमाथि उग्र व्यवहार देखाएका थिए। उनीहरुले मञ्चमा आसिन अग्र पत्रकारहरुको हातबाट किताव नै खोसेर च्यातेका थिए।

पत्रकार महासंका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नयाँ पत्रकार तथा पत्रकारिताका विद्यार्थीहरुका लागि पत्रकार महासंघको अभिलेखका रुपमा यो पुस्तकको विमोचन गरिएको दाबी गरे।

उनले भने, ‘पत्रकारको विद्यार्थीहरुका लागि अभिलेखहरुका संग्रह कमै छन्। पाठ्य सामग्रीहरु कमैछन्। त्यसैले हामीले यो पुस्तक बजारमा ल्याएका छौं ।’
परिवर्तनको क्षेत्रमा राजनीतिक र सामाजिक क्षेत्रमा पत्रकार महांघको योगदान महत्वपूर्ण रहेको भन्दै यसबारे जानकारी दिन र अध्ययन अनुसन्धान गर्न पुस्तक विमोचन गरिएको बताए।

केही पत्रकार संघ संगठनहरुले संस्थापकका बारेमा केही असन्तुष्टि जनाउँदै आएको उल्लेख गर्दै उक्त सन्दर्भमा अध्ययन, अनुसन्धान, इतिहासको खोजी गरेर टुंगोमा पुर्याउनुपर्ने धारणा राखे।

त्यस्तै, अग्रज पत्रकार रामकृष्ण रेग्मीले पत्रकारितामा रुची राख्न खोज्ने पत्रकारका लागि पुस्तक महत्वपूर्ण रहेको बताए। यस्ता मौलिक पुस्तकहरु कम मात्र बजारमा आएको भन्दै खोजी पत्रकारिताका लागि इतिहास पल्टाउनुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘अहिलेसम्म आईपुग्दा विभिन्न प्रगति भएका छन्। अहिले च्याट जिपिटिले च्यालेञ्ज गरेको बेला आमसञ्चारले कसरी लिइरहेको छ भन्ने बुझ्न यो सात दशकको पत्रकारको अनुभव लिनुपर्ने बेला आएको छ।’

महासंघका अभिलेखहरुमा नेपाल पत्रकार महासंका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेपनि सत्यन्द्रबहादुर श्रेष्ठ संस्थापक सभापति भएको फोनिजको दावी छ। फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले महासंघले इतिहास मेटाउने काम भएकाले आाफूहरुले त्यसको विरोध गरेको बताए।

२००८ वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठ महासंघ ९तत्कालीन पत्रकार संघ० को अध्यक्ष भएका थिए। तर महासंघले प्रकाशन गरेको पुस्तकमा त्यसको कुनै पनि चर्चा नरहेका कारण आफूहरूले कार्यक्रम अवरुद्ध गर्नुको साथै पुस्तक पनि च्यातेको उनको भनाई थियो।

त्यस्तै, फोनिजका महासचिव मिलन लिम्बुले यसमा समावेश तथ्य गलत भएको भन्दै एक हप्ता अगाडी सच्याउन आग्रह गरिएको भएपनि महासंघले त्यसको नजरअन्दाज गरेको बताए।

उनले भने, ‘यो गलत छ। सत्यन्द्रबहादुर श्रेष्ठ योगदानमाथि किन अपहेलना गरियो ? नेपाल पत्रकार महासंघले यो सम्झनुपर्छ कि महासंघ सबैको साझा संस्था हो। हामी अग्रजहरुमा सम्मान व्यक्त गर्दछौं तर यसरी अग्रज छान्दै गर्दा एउटा अनुहार किन लेखिएन यहाँ ?’

पुस्तक नसच्चिए ‘अग्र अनुहार’ नामक पुस्तक बजारमा जान नदिने उनको चेतावनी थियो। त्यस्तै पुस्तकमा महिला अनुहार नसमेटिएकोप्रति महिला पत्रकारहरुले आपत्ति जनाउँदै आएपनि प्रकाशित पुस्तक अध्ययन गरिसकेपछि मौन बसेका थिए।

यद्यपी, पत्रकार महासंघका हालसम्मका आधिकारिक दस्तावेज र विधानहरुमा संस्थापक सभापतिका रुपमा भट्टराईलाई स्वीकारिएको छ। फोनिजका पदाधिकारी समर्थकहरू कार्यक्रमस्थलमा भेला भएपछि कार्यक्रममा प्रमुख अतिथि र मुख्य अतिथि तोकिएका सभामुख देवराज घिमिरे र सञ्चारमन्त्री रेखा शर्मा उपस्थित भएनन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?