पूर्वएआईजी चन्दको स्पष्टोक्ति : तारा बरालसँग विवाह गर्ने सहमति छैन


मंसिर १४, काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक अभियन्ता तारा बराल र आफूबीच विवाह गर्ने कुनै सहमति नभएको बताएका छन्।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी गलत भएको भन्दै आफू र तारा बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्ध मात्रै रहेको बताए।

तारा बरालसँग आफ्नो विगतमा पनि विवाह गर्ने समझदारी नबनेको, अहिले पनि नरहेको र भविष्यमा पनि नहुने उनले दाबी गरे। बरालले आफूसँग विभिन्न रेकर्ड छ भनेर भ्रम फैलाउने काम गरेको आरोप उनको छ। भ्रम फैलाएर हनी–ट्रयापमा पार्न खोजेको पनि हुनसक्ने उनले आशंका व्यक्त गरे।

‘तारा बरालले भुँइमा भ्यागुतो उफ्रँदा पनि रेकर्ड गर्ने गरेको’ टिप्पणी गर्दै उनले दुराशय राखेर गरिएको कुनै कामबारे भ्रममा नपर्न आग्रह गरे। चन्दकी श्रीमतीको २०६२ सालमा निधन भएको थियो। त्यसपछिको १८ वर्ष आफूले दुईटा बच्चाको आमा–बाबुकै भूमिका निर्वाह गरेर बसिरहेको उनले बताए।

उनले अहिले देशभर हनी–ट्रयापिङबाट धेरै मानिस पीडित भएको बताए। ‘पीडित हुनेको संख्या हेर्दा हनी–ट्रयापरविरुद्धको संगठन नै बनाउन पर्लाजस्तो भएको’ टिप्पणीसमेत उनले गरे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?