सुगम पोखरेलले अष्ट्रेलियामा फ्यानलाई माइकले हाने


कार्तिक १९, मेलबर्न, अष्ट्रेलिया । नेपालका चर्चित गायक सुगम पोखरेलले अष्ट्रेलियाको एक सांगितिक कार्यक्रममा फ्यानलाई माइक प्रहार गरेका छन्।

शनिबार अष्ट्रेलियाको एडिलेडस्थित ‘एभरेष्ट रेस्टुरेन्ट एण्ड इभेन्ट सेन्टर’मा भएको दसैँ तिहार सांगितिक कार्यक्रममा विवादको अवस्था सिर्जना भएपछि स्टेजबाट फ्यानलाई माइक प्रहार गरेका हुन् ।

उनले यस घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत स्पष्टीकरण समेत दिएका छन् । उनले सार्वजनिक गरेको उक्त भिडियोमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएका नेपालीहरूको सम्झनामा माैन धारण गर्न अनुरोध गर्दा फ्यानले नमानेपछि उक्त अवस्था सिर्जना भएको बताएका छन् ।

फ्यानमाथि माइक प्रहार गर्नुभन्दा अघि उनलाई कार्यक्रम आयोजकहरूले सम्हाल्न कोशिस गरिरहेका थिए । तर, फ्यानहरू शान्त नभएपछि उनले स्टेजमा चढेर माइक प्रहार गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै भनेका छन्, ‘अहिले भुइँचालोका कारण देशलाई दुखिरहेको छ । नेपाली कलाकार भएको हुँदा देशलाई दुख्दा मलाई पनि दुख्छ । हिजोको कार्यक्रममा मौन धारण गरौं भन्दा के भयो त्यो तपाईहरूले भिडिओमा देख्न सक्नुहुन्छ । मेरो क्रियाको प्रतिक्रिया त्यसकै कारणले मात्र थियो। कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु । तर जहिले पनि संगीतको सेवा गर्नेछु ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?