अष्ट्रेलियामा मोबाइल प्रविधिमा परिवर्तन हुँदै, करिब ३० लाख मानिसहरू प्रभावित हुनसक्ने


भदाै ११, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा थ्रि-जी सेवा बन्द हुने भएको छ। थ्रि-जी सुरू भएको करीब २० वर्षपछि अष्ट्रेलियामा मोबाइल फोन र डेटामा थ्रि-जी बन्द हुने भएको हो।

अष्ट्रेलियाका प्रमुख टेलिकम सेवा प्रदायकहरू भोडाफोनले डिसेम्बर १५, टेलस्ट्राले जुन २०२४ र सोही वर्षको सेप्टेम्बरमा अप्टसले थ्रि-जी सेवा बन्द गर्ने भएका छन्।

अष्ट्रेलियामा अब फोन खरिद गर्ने ग्राहकहरूले फाइच-जी चल्ने सेट पाउनेछन्। तर, फोर-जी सपोर्ट गर्ने फोनसेट पनि अहिलेका लागि भने उपयुक्त हुने देखिएका छन्।

तर, २००० मोडलका फोन बोक्नेहरू भने थ्रि-जी बन्द हुने खबरबाट सतर्क हुनुपर्ने बताइएको छ। उनीहरूले अब फोन परिवर्तन गर्नुपर्ने देखिएको छ।

थ्रि-जी मोबाइल नेटवर्क विश्वव्यापी दूरसञ्चार नेटवर्कको तेस्रो पुस्ता हो। सामान्यतया प्रत्येक १० वर्षमा सञ्जारको नयाँ पुस्ता रिलिज हुने गरेको छ । अहिले विश्वभर फाइभ-जीको परीक्षण भइरहेको छ। कतिपय देशमा भने व्यापक रूपमा प्रयोग समेत सुरू भइसकेको छ।

पछिल्लो तथ्याङ्क अनुसार अष्ट्रेलियामा २० देखि ३० लाख मानिसहरूले अहिले पनि थ्रि-जी नै चलाइरहेका छन्। अब उनीहरूले नयाँ पुस्ताको सञ्चारमा स्विच हुनै पर्ने भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?