उच्च गतिको एफटिटीएच इन्टरनेट सुरु


साउन २६, काठमाडौँ । नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड (जिबीपीएस) अथाएत् १००० मेगावाइट पर सेकेन्ड (एमबिपीएस)सम्म उच्च गति भएको फाइभर टु होम (एफटिटिएच) इन्टरनेट सेवा प्रारम्भ गरेको छ।

यसअघि कम्पनीले १०० एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो।

हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति सय एमबिपीएस रहेकामा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। सो सेवा पाँच सय एमबिपीएस र एक जिबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुनेछ। यसको डाउनस्ट्रिम क्षमता १० जिबीपीएस र अपस्ट्रिम क्षमता दुई दशमलव पाँच जिबीपीएस हुनेछ।

प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना तीन सय ५० मिनेट कल गर्न सकिनेछ। यो प्याकमा शून्य दशमलव पाँच टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ।

प्रिमियम एफटिटीएच एक जिबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना पाँच सय मिनेट कल गर्न सकिनेछ । यो प्याकमा एक टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ।

दुवै प्याकेजमा एउटा आइपिटीभी, सिपीइ र सेटटप बक्स तथा तीन सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ। पाँच सय एमबिपीएसको ‘प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएस’ प्याकेज वार्षिक रु ८० हजार र एक जिबीपीएसको ‘प्रिमियम एफटिटीएच एक जिबीपीएस’ प्याकेज वार्षिक रु एक लाख १० हजारमा उपलब्ध हुनेछ।

यो सेवा वा अन्य एफटिटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीले १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी)मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ।

हालका लागि काठमाडौँ उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ। व्यावसायिक संस्थाहरू यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?