च्याटजीपीटीलाई कारबाहीको माग गर्दै अदालत जाने अष्ट्रेलियाका मेयरको चेतावनी


चैत ३०, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियाका एक मेयरले अत्याधुनिक च्याटबट च्याटजीपीटीले गलत सुचना दिएपछि कारबाहीको माग गर्दै कानुनी बाटो रोज्नसक्ने बताएका छन्।

हेपबर्न शायर काउन्सिलका मेयर ब्रायन हुडले ओपनएआईको स्वामित्वमा रहेको टुलले अष्ट्रेलियाको राष्ट्रिय बैंकको सहायक कम्पनीमा काम गर्दा घूस लिएको आरोपमा जेल परेको भन्दै गलत सुचना दिएको दाबी गरेका छन्।

तर, उनि कहिल्यै यस्तो अभियोगमा जेल गएका छैनन्।

उनका वकिलहरूले ओपनएआईको च्याटबटको बारेमा अष्ट्रेलियामा मानहानी कारबाहीको पहिलो चरण स्वरूप ध्यानाकर्षण पत्र पठाएको जनाएका छन्।

२८ दिनभित्र कम्पनीले जवाफ नपठाएको अवस्थामा उनी अष्ट्रेलियाको कानून अन्तर्गत कम्पनीलाई अदालतमा लैजान सक्षम हुनेछन्। यदी यो केस अदालत गएको अवस्थामा मानहानीको अभियोगमा च्याटजिपिटीले पहिलो पटक मुद्दाको सामना गर्नुपर्ने देखिएको छ।

यसबारेमा च्याटजिपिटीले केही प्रतिक्रिया नदिएको बिबिसीमा उल्लेख छ। नोभेम्बर २०२२ मा सुरु भएदेखि लाखौं मानिसहरूले यो टुल प्रयोग गरिरहेका छन्।

मानिसले जस्तै प्राकृतिक भाषामा नै २०२१ को डाटाबेस अनुसार हरेक प्रश्नको उत्तर दिनसक्ने भएका कारण यसको लोकप्रीयता बढिरहेको छ। माइक्रोसफ्टले २०२३ मा बिंगमा राख्नका लागि अर्बौं डलर खर्च गरेको छ।

तर, च्याटजिपिटीका प्रयोगकर्ताहरूले व्यक्ति, स्थान वा तथ्यहरूबारे गलत जानकारी पाउने सम्भावना रहेको भन्ने जानकारी च्याटजिपिटीले राखेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?