कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटनाः २ जनाको मृत्यु, दुई घाइते


चैत २५, काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरका मोटरसाइकल गए राति सवा ९ बजे एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवै जना मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गए राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त छ । दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?